काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता परिवर्तनका लागि नेपाली कांग्रेससँग पहल गरेको कुरा झुटो भएको दाबी गरेका छन्।
शनिबार निजी निवास खुमलटारमा आयोजित एक कार्यक्रममा बोल्दै उनले केही दिनअघि कीर्तिपुर उपनिर्वाचनको चुनावी सभामा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अध्यक्ष दाहालले हप्ताको दुई/तीन पटक नेपाली कांग्रेससँग प्रधानमन्त्री बन्न आग्रह गरेको बताएका थिए। सोहीबारेमा सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले सत्ता परिवर्तनको कुरा आफूले अघि नबढाएको दाबी गर्दै ०८४ सम्मकै सरकार चलाउन बारम्बार सार्वजनिक मञ्चहरुमार्फत आग्रह गरेको बताए।
उनले महामन्त्री थापालाई आफूले युवा नेताको रुपमा धेरै संवाद र सहकार्य गर्ने गरेको बताउँदै पछिल्ला केही महिनायता धेरै परिवर्तन भएको पाएको बताए।
जनतालाई झुटो बोलेको देख्दा महामन्त्री थापाप्रति दया लागेको उनको टिप्पणी थियो। कांग्रेस सभापति शेरबहादुर देउवासँग आफ्नो सरकार परिवर्तनको बारेमा प्रत्यक्ष र परोक्ष रुपमा कुरा नभएको उनले दाबी गरे। उनले महामन्त्री थापालाई आफ्नो अभिव्यक्तिबारे आत्मसमीक्षा गर्न सुझाव दिए।
उनले भने, ‘सत्ता परिवर्तनको कुरा अघि बढाएको कुरा बिल्कुल होइन। यो भन्दा सफेद झुट अरु केही हुनै सक्दैन। गगन थापालाई मैले एउटा युवा नेताको रुपमा उहाँसँग धेरै संवाद, सहकार्य हुने गर्दथ्यो। अहिले केही महिनाभित्रै उहाँमा आएको परिवर्तन र उहाँले यति तल झरेर हुँदै नभएको झुटो कुरो जनतासँग बोलेको देख्दा गगनजीप्रति मलाई साँच्चै दया लागेको छ।’