images
images

प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने गरी कुनै राष्ट्रघात गर्नुभएको छैन : सांसद दाहाल

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिनुपर्नेगरी कुनै राष्ट्रघाती काम नगरेको बताउनुभएको छ ।

बुधबारको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले प्रधानमन्त्रीको राजीनामा माग गरी संसद अवरोध गरेपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले एमालेले सरकार बाहिर बसेको पीडा अभिव्यक्त गरेको बताउनुभएको हो ।

सांसद दाहालले सरकार अंक गणितले बन्ने र बहुमत गुमाएको दिन स्वतः राजीनामा हुने भन्दै अहिले नै राजीनामा दिनलाई कुनै राष्ट्रघाती सन्धि नगरिएको बताउनुभयो । उहाँले प्रतिपक्ष दलले जस्तो देश नबेचेको पनि बताउनुभयो । सांसद दाहालले सरदार प्रितम सिंहले प्रचण्डलाई प्रधानमन्त्री बनाउने सदिक्षा राखेको कुरा अभिव्यक्त गरेका र सोही कुरा प्रधानन्त्री प्रचण्डले एक कार्यक्रमका बीचमा राखेको भन्दै सो विषय राजनीतिक विषय नभएको बताउनुभयो ।

सांसद दाहालले प्रधानमन्त्री दाहाललाई प्रधानमन्त्री बनाउने सदिक्षासहित सरदार सिंहले नेपाल र भारतका व्यक्तिहरुलाई भेटेको बताएपनि प्रधानमन्त्री दाहालले नअह्राएको बताउनुभयो ।

सांसद दाहालले कुनै व्यक्तिले कसैप्रति राखेको सदिक्षालाई लिएर संसद अवरुद्ध गर्नुपर्ने कुनै कारण नभएको बताउनुभयो ।