काठमाडौं, १९ मंसिर – सत्तारूढ दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय तह उपनिर्वाचनको समीक्षा गरिने बताएका छन् । उनले उपनिर्वाचनको समग्र प्रतिवेदन आएपछि पार्टीका तर्फबाट भएका कमी–कमजोरीबारे समीक्षा गरिने बताएका हुन् ।
०७९ सालको स्थानीय तह निर्वाचनमा पराजित भएका केही ठाउँमा समेत एमाले विजयी भएको उनले उल्लेख गरे । उनले स्थानीय तह उपनिर्वाचन परिणामका विषयमा पार्टी निराश हुनुपर्ने कारण नरहेको बताए । आफ्नो पकड क्षेत्र भएका ठाउँमा पनि मत घटेकामा समीक्षा गरिने उनले स्पष्ट पारे ।
उनले काठमाडौंको कीर्तिपुर नगरपालिकाको परिणाम आफ्नो पक्षमा नरहे पनि गत निर्वाचनको भन्दा प्रगति भएको बताए । हाल पुराना राजनीतिक दलहरू ‘आउटडेटेड’ भए भन्ने भाष्य खडा गरिए पनि जनमतबाट पुष्टि हुन नसकेको उनले उल्लेख गरे । जनताले अझै पुराना राजनीतिक दलहरूबाट आशा र विश्वास कायमै राखेको उनको जिकिर छ ।
राष्ट्रिय राजनीतिमा पुराना दलहरूको भूमिका कमजोर भन्ने भनाइलाई जनताले अस्वीकार गरेको उनले टिप्पणी गरे ।
ईश्वर पोखरेलको भनाइ पढ्नोस्–
उपनिर्वाचनको परिणाम निराशाजनक छैन । उपनिर्वाचनमा हामीले गत निर्वाचनमा पराजित भएका ठाउँहरूमा पनि जितेका छौं । अरू पार्टीहरूले लामो समयदेखि जित्दै आएका ठाउँहरूमा पनि जितेका छौँ । केही हामी आफ्नो पकड भएको क्षेत्रमा पराजित भएको अवस्था पनि छ । तर, उपनिर्वाचनको समग्र रिपोर्ट आइसकेपछि हामी समीक्षा पनि गरौँला, कहाँ के कमजोरी भयो । हामीले आफ्नो शक्ति विन्यास गर्ने कुरामा कतै तलमाथि भयो कि त्यो बुझौँला । तर, त्यस्तो निराशाजनक कुरा होइन । कीर्तिपुरमा २०७९ को निर्वाचनबाट आएको परिणाम पनि थाहा छँदै छ । त्यस बेला डल्लै गठबन्धन पनि थिएन र पनि हामीले जित्न सकेका थिएनौँ । हामीले उक्त निर्वाचनभन्दा अहिले प्रगति गरेका छौँ । तर पनि परिणाम हाम्रो पक्षमा रहेन । त्यहाँ हाम्रा केही कमजोरी भएका हुन सक्छन् । हामीले पुनरवलोकन पनि गर्नुपर्ने हुन्छ । यता काठमाडौं महानगरको १६ नम्बरको पनि अवस्था त्यही हो । महत्त्वपूर्ण वडा हो, तर त्यहाँ हामीले जित्न सकेनौँ । त्यसमा भएका कमी–कमजोरीलाई हामी हेर्छौँ र कसरी सम्हालिनुपर्छ त्यसैगरी अगाडि बढ्छौँ । अहिले एउटा भाष्य खडा गरिँदै छ– पुराना दल आउटडेटेड भए । त्यो जनताको मतबाट पुष्टि भएन, कायम छन् भन्यो । युज एजेन्सी नेपाल