images

टुरिजम सिस्टरहुड नेपालको अध्यक्षमा मलेखु चयन

काठमाडौँ, २२ मङ्सिर – पर्यटन क्षेत्रमा कार्यरत महिलाको साझा संस्था ‘टुरिजम सिस्टरहुड नेपाल एसोसिएसन’को अध्यक्ष पदमा जुनु मलेखु निर्वाचित हुनुभएको छ ।
एसोसिएनको शुक्रबार साँझ सम्पन्न छैटौँ वार्षिक साधारणसभा एवं निर्वाचनबाट मलेखुको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । क्याथे प्यासिफिक एयरलाइन्सको नेपाल प्रमुख मलेखु डेढ दशकभन्दा बढी समयदेखि पर्यटन क्षेत्रमा क्रियाशील हुनुहुन्छ ।
यस्तै, उपाध्यक्षमा रोजीना रञ्जित, महासचिवमा पावना श्रेष्ठ, सचिवमा वेञ्जु मुखिया र सदस्यहरुमा केविना पाल अधिकारी, प्रज्ञा शर्मा, युविका भण्डारी, हेमा श्रीपाली र सुचिता जोशी निर्वाचित हुनुभएको छ । सन् २०१८ मा नौ जनाबाट सुरु भएको सो एसोसिएसनले पर्यटन क्षेत्रमा कार्यरत महिलालाई सशक्त बनाई नेतृत्व विकासमा काम गर्दै आएको नवनिर्वाचित अध्यक्ष मलेखुले बताउनुभयो ।
उक्त एसोसिएसनमा हाल ५० भन्दा बढी महिला आबद्ध छन् । कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटनको नयाँ गन्तव्य खोज्नका लागि टुरिजम सिस्टहुड नेपाल एसोसिएसनले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
उहाँले नेपाल पर्यटन बोर्ड एसोसिएसनसँग सहकार्य गरेर पर्यटन प्रवद्र्धनमा लाग्नेसमेत उल्लेख गर्नुभयो । नेपाल एसोसिएसन टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा)का अध्यक्ष कुमारमणि थपलियाले पछिल्लो समय पर्यटन क्षेत्रमा महिलाको सहभागिता बढ्दै गएको भन्दै अब नेतृत्वदायी भूमिकामा समेत महिला पुग्नुपर्ने बताउनुभयो ।
हिमालयन एयरलाइन्सका उपाध्यक्ष विजयबहादुर श्रेष्ठले आन्तरिक पर्यटन बलियो भएमात्र देशको अर्थतन्त्र बलियो हुने भन्दै आन्तरिक पर्यटन प्रवद्र्धनमा सबै लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा एसोसिएसनका निवर्तमान अध्यक्ष अनुपा बुढाथोकीले पर्यटन क्षेत्रमा कार्यरत महिलाको क्षमता अभिवृद्धि गर्दै दिगो र जिम्मेवार पर्यटन निर्माण गर्न एसोसिएसनले काम गर्दै आएको बताउनुभयो ।
“पर्यटन क्षेत्रमा महिलाको न्यून सहभागिता भएका अवस्थामा यस क्षेत्रमा महिला सहभागिता बढाउन आवश्यक छ”, उहाँले भन्नुभयो । रासस