काठमाडौँ, २२ मंसिर – नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा रोड एण्ड बेल्ड इनिसिएटिभ (बिआरआई) सम्झौता गरेकोमा खुशी व्यक्त गरेका छन्।
चीन भ्रमण सकेर शनिवार स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपालको तयारी नपुगे पनि अन्तिममा बिआरआई परियोजनामा सम्झौता गर्नु सुखद् पक्ष भएको उल्लेख गरे।
बिआरआई सम्झौता गर्नु नै थियो भने छिमेकी देशसँग यत्रो नाटक किन गर्नुपरेको? भन्दै उनले प्रश्नसमेत गरे। छिमेकी देशहरुसँग राम्रो सम्बन्ध बनाउन नसक्नेले कसरी विश्वसँगको सम्बन्ध राम्रो बनाउँछ भन्ने उनको प्रश्न छ।
नेता खनालले नेपाल सरकारले अविलम्ब पारवहन सुविधा साकार बनाउन तत्काल अध्ययन जरुरी रहेको बताए। भारतबाट ४ पटक नाकाबन्दी भोगिसकेको भन्दै पारवहन खुला हुने स्थिति बनेको खण्डमा कहिल्यै पनि नाकाबन्दी भोग्नु नपर्ने उल्लेख गरे।