एलओडीका सञ्चालक राजुसिंह सुवाल पक्राउ

काठमाडौं- ठमेलस्थित एलओडी (लर्ड अफ ड्रिंक्स) क्लबका सञ्चालक राजुसिंह सुवाल पक्राउ परेका छन्।

एलओडी गएकी एक नाबालिगलाई ललितपुर लगेर बलात्कार गरेको प्रकरणलाई लिएर ललितपुर प्रहरीले उनलाई पक्राउ गरेको ललितपुरका प्रहरी प्रमुख एसएसपी सिद्धिबिक्रम शाहले जानकारी दिएका छन्। उनका अनुसार सुवाललाई बालुवाटारबाट बिहीबार साँझ पक्राउ गरिएको हो।

उमेर नपुगेका व्यक्तिलाई क्लबमा प्रवेश गराएको र उक्त नाबालिगको बलात्कार भएपछि सुवाल पक्राउ परेका हुन्।

यसअघि बिहीबार नै नाबालिगलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा घर भई ललितपुरको बागडोल बस्ने ५० वर्षीय सुदनबहादुर कोइराला रहेको शाहले बताएका छन्।

३० जेठमा एलओडी क्लब गएकी १६ वर्षीया बालिकालाई ललितपुर लगेर बलात्कार गरेको घटना सार्वजनिक भएको थियो। शाहका अनुसार जेठ ३१ गते बिहान बागडोलस्थित  कार्यालयमा बलात्कृत भएको भन्दै पीडितले प्रहरीमा किटानी जाहेरी दिएकी थिइन्। जाहेरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

पक्राउ परेका कोइरालाले बयानमा भने पीडित नाबालिग नभई उमेर पुगेको युवती भएको दाबी गरेका छन्। १८ बर्षभन्दा तलको कसैलाई पनि क्लबमा प्रवेश नै नपाउने बताउँदै पीडित नाबालिग नरहेको उनले बयानमा बताएको प्रहरी स्रोतले बताएको छ।