images
images

गोरखामा बैदेशिक रोजगार ठगीको आरोपमा एक पक्राउ, तीनजना बिरुद्ध पक्राउ पुर्जी जारी

विदेश पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा गोरखाका तीनजना बिरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सहिद लखन गाउँपालिका वडा नम्वर ८ का रामबहादुर अम्गाई, लक्ष्मण अम्गाई र दिनेश अम्गाई बिरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ ।

काठमाडौ जिल्ला अदालतले गत जेठ ३० गते उनीहरुलाई पक्राउ गर्न पुर्जी जारी गरेको थियो । पक्राउका लागि जिल्ला प्रहरी परिसर काठमाडौबाट जिल्ला प्रहरी कार्यालयमा पत्राचारसमेत भइसकेको छ । बुंकोट प्रहरी चौकी पक्राउ गर्न निर्देशन भइसकेको र उनीहरुको खोजी कार्य जारी रहेको गोरखा प्रहरीले जनाएको छ ।

यता बैदेशिक रोजगार ठगीको आरोपमा गोरखाको गण्डकी गाउँपालिका–८ घर भई हाल ललितपुर बस्ने दुर्गाबहादुर रेग्मी पक्राउ परेका छन् । मकाउ पठाइदिने भन्दै उनले जित बहादुर थापा मगरसँग पटक पटक गरी ६ लाख साठी हजार रकम ठगी गरेर फरार रहेको आरोपमा उनी पक्राउ परेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

मकाउको प्रतिष्ठित होटलमा मासिक एकलाख २० हजार तलव हुने गरी क्लिनरको काम लगाइदिन्छु भन्दै रेग्मीले मगरसँग रकम ठगी गरेको बताइएको छ । सम्पर्कबिहीन रेग्मीलाई पक्राउ गरी कार्यालयमा उपस्थिति गराइदिन भन्दै बैदेशिक रोजगार बिभागले पत्राचार गरेपछि मंगलवार उनलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । आवश्यक कारबाहीका लागि रेग्मीलाई बैदेशिक रोजगार बिभाग पठाइएको बताइएको छ ।