images

शैक्षिक सर्टिफिकेटसँगै अब सिपको सर्टिफिकेट जरुरी छ : उपप्रधानमन्त्री सिंह

नवलपरासी,  २९ मंसिर –  उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले अहिलेको आवश्यकता सिपयुक्त शिक्षा भएको बताएका छन् । शनिवार कावासोतीमा रहेको श्री शिव माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहमा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । उनले अब विद्यालयहरूले शैक्षिक सर्टिफिकेटसँगै सिपको सर्टिफिकेट पनि दिन सक्नुपर्ने बताए।

गुणस्तरीय र सिपयुक्त शिक्षा दिन सके असल, सक्षम र स्वावलम्बी नागरिक उत्पादन हुने र अब त्यसतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ । देशको दिशालाई सकारात्मक बाटोमा लैजान विशेषगगरी माध्यमिक तहको शिक्षामै बढी ध्यान दिन पनि उनले आग्रह गरे । 

‘शैक्षिक गुणस्तर सँगसँगै समयको मागबमोजिम सक्षम नागरिक बनाउनका लागि सिप सिकाउन लाग्यौँ भने राम्रो हुन्छ,’ उपप्रधानमन्त्री सिंहले भने, ‘विद्यालय तहको शिक्षा गुणस्तरीय बनाउन सक्यौँ भने देशको दिशालाई सकारात्मक बाटोमा लैजान सक्छौँ । यसमा सबैभन्दा बढी जोड दिनुपर्छ ।’

उनले विद्यालयको अध्ययन  सकेर विद्यार्थी बाहिर जाँदा आफ्नो जीवन आफै चलाउन सक्ने सक्षम नागरिक उत्पादन गर्न लाग्नुपर्ने बताए।  त्यस्तै उपप्रधानमन्त्री सिंह शनिवार नेपाली कांग्रेस  नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्ला कार्यसमितिले आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा पनि सहभागी भएका थिए ।

सो क्रममा उनले पार्टीलाई बलियो बनाउन पार्टी सङ्गठन विधि र नियमअनुसार चलाउनुपर्ने बताए।  सिंहले पार्टीभित्र मतभेद भए पनि कांग्रेसको नीति, विचार, सिद्धान्तलाई जनतामा पुर्‍याउनका लागि कांग्रेसलाई केन्द्रमा राखेर सोच्न आग्रह गरे। आदर्शको कुरा गरेर नहुने भन्दै उनले सङ्गठनभित्र समस्याको पहिचान गरी व्यवहारिक भएर समाधान खोज्नुपर्नेमा जोड दिए ।

सङ्गठनकै बलमा पार्टीबाट वडा सदस्य देखि मन्त्रीसम्म जनप्रतिनिधि बनेको भन्दै उनले जनप्रतिनिधिहरूले पनि सङ्गठनमा ध्यान दिनुपर्ने बताए ।  उनले नमुना सदरमुकामको विषयमा आफूले सहरी विकास मन्त्रालयको नेतृत्व लिएपछि काम अघि बढाइरहेको पनि जानकारी गराए ।