images

अब अस्ट्रेलियामा पनि ‘बाजेको सेकुवा’

सिड्नी, २९ मंसिर – अस्ट्रेलियामा नेपालीको संख्या बढेसँगै नेपालीपनले पनि छपक्कै ढाक्न थालेको छ । विदेशमा देश चिनाउने अनेकन माध्यममध्ये नेपाली स्वाद पनि एक हो । कुनै पनि देशको साहित्य, संगीत र कलाले त्यो मुलुकको संस्कृति झल्काउँछ, खाने परिकारले जनजीवनको समृद्धि केलाउने काम गर्छ । स्वादको विविधता भएका नेपाली परिकार विस्तारै विदेशमा पनि लोकप्रिय बन्दै छन् ।

यस्तैमा नेपाली जनजिब्रोमा परिचित स्वादका रूपमा स्थापित ‘बाजेको सेकुवा’ले पनि विदेशमा विस्तार हुने मौका पाएको छ । यतिबेला अस्ट्रेलियाको सिड्नीस्थित मेरिल्यान्डमा ‘बाजेको सेकुवा’ सुरु भएको छ ।

उसो त सिड्नीमा सयौँको संख्यामा नेपाली रेस्टुरेन्ट छन् । तर, नेपाली स्वाद र पहिचानको दृष्टिले बाजेको सेकुवा अलग र फरक ब्रान्ड बनेको यसका सञ्चालक सौरभ अधिकारी बताउँछन् ।

“यो एउटा संयोग नै भन्नुपर्छ, नेपाल जाँदा बुबा मुकुन्द अधिकारी खाना खान बाजेको सेकुवा पुग्नुभएको रहेछ । उहाँलाई त्यहाँको खानपान र अतिथि सत्कारले आकर्षित गरेपछि उहाँले सिड्नीमा बाजेको सेकुवा खोलौँ भन्ने प्रस्ताव ल्याउनुभयो । हामीले सल्लाह गर्‍यौँ र यसलाई मूर्तरूप दियौँ,” सौरभ भन्छन् ।

रेस्टुरेन्टका अर्का सञ्चालक विशाल खड्गी नेपालमा रहेको बाजेको सेकुवाअन्तर्गत रहेर फ्रेन्चाइजका रूपमा नेपाली स्वाद अस्ट्रेलियामा पस्किने प्रयास गरेको बताउँछन् ।

“सेकुवाको स्वाद र मसला सबै नेपालबाटै आउँछ । एक महिनाको विशेष तालिमपछि अनुभवी कुकहरूले यसलाई उही नेपाली स्वादमा ढाल्न सफल हुनुभएको छ,” खड्गीले भने ।

उनका अनुसार, ‘बाजेको सेकुवा’मा नेपालमा पाइने ‘हड्डी सुप’देखि सेकुवाका सबै परिकार पाइन्छ । “केही फरक र अलग गरेर मुलुकको स्वाद पस्कने सोचमा बाजेको सेकुवा रोजाइमा परेको हो,” उनले भने ।

बाजेका सेकुवा, नेपालका कार्यकारी प्रमुख चेतन भण्डारी नेपाली ब्रान्डलाई पनि विदेशमा फ्रेन्चाइज बनाएर लग्न सकिने प्रयासले मूर्तरूप लिएको बताउँछन् । नेपालबाहेक अमेरिकामा पनि बाजेको सेकुवाले राम्रो बजार लिएको र अस्ट्रेलियामा पनि सबैले मन पराउनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ ।

“बाजेको सेकुवा नेपाली स्वादमात्र होइन, नेपालीपनको पहिचान पनि हो । यसैले पनि नेपाली समुदायको बाहुल्य भएका अन्य देश र सहरमा पनि फैलाउने योजना छ,” उनले सुनाए ।