images

सुदूरपश्चिमसँगको हारका बाबजुद कर्णाली प्लेअफमा, काठमाडौं बाहिरियो

काठमाडौं, १ पुष – सुदूरपश्चिम रोयल्ससँग ६ विकेटले पराजित भए पनि कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल)को प्लेअफमा प्रवेश गरेको छ ।

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा कर्णालीले प्रस्तुत गरेको १०२ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले १५.२ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो ।

प्लेअफ समीकरणअनुसार सुदूरपश्चिमले १३ ओभरभित्र जित निकाल्दा काठमाडौं गुर्खाजले प्लेअफमा स्थान बनाउने थियो । तर, सुदूरपश्चिमले १६औँ ओभरमा जित निकालेको कारण नेट रनरेटमा कर्णालीले काठमाडौंलाई पछि पार्दै प्लेअफ यात्रा तय गरेको हो ।

अंक तालिकाको चौथो स्थान सुनिश्चित गरेको कर्णालीले सात खेलबाट आठ अंक जोडेको छ । समान अंक भए पनि काठमाडौं नेट रनरेटका आधारमा पाँचौँ स्थानमा छ ।

यता, कर्णालीविरुद्ध सहज जित निकालेसँगै सुदूरपश्चिमले भने लिग चरणमा शीर्ष स्थान हासिल गरेको छ । सुदूरपश्चिमले सात खेलबाट १२ अंक जोडेको छ ।

सोमबार सुदूरपश्चिमको जित दिलाउन कप्तान दीपेन्द्रसिंह ऐरीले ३८ रन बनाए । उनले २९ बलमा चार चौका र एक छक्का पहार गरे । यस्तै, इशान पाण्डेले अविजित ३८ रन थपे । उनले ३६ बलमा चार चौका प्रहार गरे । २८–३ को कठिन स्थितिबाट यी दुईले चौथो विकेटका निम्ति ६७ रनको साझेदारी गर्दै सुदूरपश्चिमलाई जितनजिक पुर्‍याएका थिए । इशानसँगै अविजित रहेका आरिफ सेखले चार रन जोडे ।

त्यसअघि सैब जैबले ११ रन थप्दा विनोद भण्डारी चार र ब्रान्डन म्याकमुलम तीन रनमा पभेलियन फर्किएका थिए ।

कर्णालीका कप्तान सोमपाल कामी, विपिन शर्मा र नन्दन यादवले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १०१ रनको योगफल खडा गरेको थियो । कर्णालीका जिसान मक्सुदले सर्वाधिक ३० रन बनाए । उनले ३५ बलमा चार चौका प्रहार गरे । विलियम बोसिस्टोले २४ बलमा एक चौकासहित १६ रन जोडे । ओपनर बाबर हायातले नौ बलमा तीन चौका प्रहार गर्दै १३ रन बनाए ।

यस्तै, चान्डविक वाल्टन र कप्तान सोमपाल कामीले समान ११ रन थपे । कर्णालीका ओपनर रित गौतम, नन्दन यादव र विपिन शर्मा ‘डक’ भए ।

कर्णालीलाई सस्तैमा रोक्न सुदूरपश्चिमका हर्मित सिंहले तीन विकेट लिए । चार ओभर बलिङ गरेका हर्मितले १७ रनमात्र खर्चिए । स्कट कुग्गेलेनले र दीपेन्द्रसिंह ऐरीले समान दुई विकेट लिए । सैब जैबको नाममा एक विकेट रह्यो ।

यो नतिजासँगै प्रतियोगिताको प्लेअफ समीकरणसमेत पूरा भएको छ ।