काठमाडौं, २ पुष – नेपाल र चीनका निजी क्षेत्रबीच नेपालबाट वार्षिक डेढ अर्ब अमेरिकी डलरको राँगाभैँसीको मासु निर्यात गर्नेसम्बन्धी समझदारी भएको छ । आज यहाँ आयोजित कार्यक्रममा नेपालको हिमालयन फुड इन्टरनेशनल र चीनको साङ्घाई जियान फुड कम्पनी लिमिटेडबीच सोसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
हिमालयन फुड प्रशोधित मासु निर्यातका लागि २०६८ मा स्थापना भएको थियो । कम्पनीले विभिन्न मुलुकमा प्रशोधित मासु निर्यात गर्दै आइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणका क्रममा नेपाल र चीनबिच प्रशोधित राँगाभैँसीको मासु चीन निर्यात गर्नेसम्बन्धी प्रोटोकलमा हस्ताक्षर भएको थियो ।
‘चिनियाँ मापदण्डको मासु निर्यात गर्न सरकार प्रतिबद्ध’
सो अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले रागाँको मासुको गुणस्तर सुनिश्चित गरेपश्चात नेपाली उपभोक्ताले उपभोग गर्ने तथा चीन सरकारको मापदण्ड अनुसारको मासु निर्यात गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताए । उनले नेपाल र चीनबिच सम्पन्न राँगाभैँसीको प्रशोधित मासु चीन निर्यात गर्नेसम्बन्धी समझदारीले नेपाली किसानलाई रागाँ भैसीपालनका लागि थप प्रोत्साहित गरेको बताए ।
“नेपाली उत्पादनको गुणस्तर सुनिश्चित बनाउदै गुणस्तरीय वस्तु निर्यात सुनिश्चित गर्न प्रयासरत छौँ”, मन्त्री अधिकारीले भने, “यसका लागि पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयन गर्दै आवश्यक कानुन नीति नियम बनाउन तथा सोको पालना गर्न गराउन दृढ सङ्कल्पित छौँ ।”
पशुका रोगको नियन्त्रण गर्न जोनिङलगाय विधिको अवलम्बन गर्दै स्वस्थ पशुको उत्पादनसहित पशुजन्य उत्पादनको रुपमा रहेको दूध तथा मासुको गुणस्तर प्रमाणीकरण गर्न नेपाल सरकार आफ्नो स्रोतले भ्याएसम्म प्रयासरत रहेको उनको भनाइ थियो ।
कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले नेपाल र चीनबिच राँगाभैँसीको मासु निर्यातसम्बन्धी सम्झौताबाट नेपालमा रोजगारी सिर्जना र आर्थिक विकासमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले न्यून लागतमा राँगाभैँसी उत्पादन हुनसक्ने क्षेत्र पहिचान गरेर उत्पादन थाल्ने सुझाव दिनुभयो ।
नेपालका लागि चिनियाँ राजदूत चेन सङले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा सम्झौता भएको राँगाभैँसीको मासु निर्यातसम्बन्धी सम्झौता कार्यान्वयनमा प्रवेश गरेकामा खुसी व्यक्त गरे । पशु सेवा विभागका महानिर्देशक डा उमेश दाहालले मासुको अभाव हुन नदिन विभिन्न ३० वटा पालिकामा राँगाभैसी पालन अभियान सञ्चालन गरिएको जानकारी दिए ।