काठमाडौं, ३ पुष – ओपनर जयकिशन कोल्सावाला र विलियम बोसिस्टोको अर्धशतकप्रेरित कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजविरुद्ध १७६ रनको लक्ष्य प्रस्तुत गरेको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७५ रन बनाएको हो ।
कर्णालीका ओपनर कोल्सावालाले सर्वाधिक ५३ रन बनाए । उनले ३९ बलमा ६ चौका र दुई छक्का प्रहार गरे । कोल्सावालाले ३५–२ को स्थितिबाट तेस्रो विकेटका निम्ति विलियम बोसिस्टोसँग ४९ रनको साझेदारी गर्दै कर्णालीको मध्यक्रम सम्हालेका थिए ।
बोसिस्टोले ५२ रन बनाए । उनले ३९ बलमा तीन चौका र दुई छक्का प्रहार गरे । बोसिस्टोले ९७–४ को स्थितिबाट पाँचौँ विकेटका निम्ति चान्डविक वाल्टनसँग ६७ रनको साझेदारी गर्दै कर्णालीलाई बलियो योगफलसम्म पुर्याएका हुन् ।
वाल्टनले अविजित ४६ रन जोडे । आक्रामक रूपमा प्रस्तुत भएका वाल्टनले २३ बलमा चार चौका र तीन छक्का प्रहार गरे । कप्तान सोमपाल कामी शून्यमा अविजित रहे ।
कर्णालीका अर्का ओपरन रित गौतम ‘गोल्डेन डक’ र गुल्सन झा ‘डक’ भए । जिसान मक्सुदले १२ बलमा एक चौका र एक छक्कासहित १४ रन थपे । देव खनाल तीन रन बनाएर पभेलियन फर्किए ।
चितवनका सोहेल तान्विरले दुई विकेट लिए । चार ओभर बलिङ गरेका सोहेलले २४ रन खर्चिए । सरद भेषवाकर, रवि बोपारा र कप्तान कुशल मल्लले समान एक विकेट हात पारे ।
यो खेलमा जित निकाल्ने टिमले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ । आजै हुने पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्नेछन् ।