images

जर्मनीबाट परराष्ट्रमन्त्री डा. राणा सिधै भारत प्रस्थान

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा नयाँ दिल्ली प्रस्थान गरेकी छन्। जर्मनीको बर्लिनमा आयोजित समानतासम्बन्धी सम्मेलनमा नारीवादी परराष्ट्र नीतिसम्बन्धी प्यानललाई मंगलबार सम्बोधन गरेपछि आज उनी भारतको नयाँ दिल्ली प्रस्थान गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

परराष्ट्रमन्त्री राणाले भारत भ्रमणमा उच्चस्तरीय भेटवार्ताको योजना बनाएपनिकार्यतालिका नमिलेका कारण उनको भ्रमण टुंगो लागेको थिएन। यता राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा डा. शंकरप्रसाद शर्मालाई भारतको राजदूतमा नियुक्त गरेका थिए।

मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री राणाले बेल्जियम, नेदरल्याण्ड्स र लक्जेम्बर्गको भ्रमणपश्चात जर्मनीको भ्रमण गरेकी थिइन्। जर्मनीमा रहँदा उनले यौनिक र लैङ्गिक अल्पसङ्ख्यकहरूको अधिकारसम्बन्धी सम्मेलन–२०२४ मा सहभागिता जनाएकी हुन्।

राणा देउवाले  समानताका अन्य नीतिहरुजस्तै नारीवादी परराष्ट्र नीतिले पनि मेलमिलाप, समभाव र समावेशिता अगाल्ने दाबी गरेका छन्।उनले समानता र सबै अल्पसङ्ख्यक समूहहरुको अधिकारको सुनिश्चितताका लागि नारीवादी परराष्ट्र नीतिको आवश्यकतामा जोड दिइन्।  

उनले यो नीतिले रूपान्तरणको प्रतिज्ञा र सम्भावना बोकेकाले अनुशरण आवश्यक रहेको स्पष्ट पारिन्। मन्त्री डा. राणाले भनिन्,‘नारीवादी परराष्ट्र नीतिले श्रेणीबद्धता र बहिष्करणमा आधारित पितृसत्तात्मक संरचनालाई चुनौती दिने काम गर्दछ। यो नीतिले समावेशिता, सहानुभूति र समानताका सिद्धान्तहरुलाई प्राथमिकतामा राख्दछ र समग्रमा मानव सुरक्षा भन्ने बृहत अवधारणालाई अघि सार्दै कूटनीतिमा सबैलाई समान रुपमा व्यवहार गर्दछ।’