images
images

स्वास्थ्यमन्त्री बस्नेत र प्रधानसेनापतिद्वारा मेलम्ची बेलीब्रिजको उद्घाटन

मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० र ११ जोड्ने इन्द्रावती नदीमा झण्डै दुई वर्षपछि बेलीब्रिजको उद्घाटन गरिएको छ ।   स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र प्रधानसेनापति प्रभुराम शर्माले आज यहाँ विशेष समारोहबीच उक्त बेलीब्रिजको संयुक्तरूपमा उदघाटन गरेका हुन् ।

मेलम्ची पुल बजारमा आयोजित उद्घाटन समारोहमा मन्त्री बस्नेतले बाढीपहिरोले पुल बगाएपछि यहाँका स्थानीयवासीले धेरै सास्ती बेहोर्नुपरेको अवस्थामा नेपाली सेनाको सहयोगमा मेलम्ची बेलीब्रिज छोटो समयमै निर्माण भएकामा खुशी व्यक्त गरे ।

उनले बेलीब्रिजले जिल्लावासीलाई आवतजावतका साथै आर्थिक र सामाजिक दृष्टिले पनि जनजीवन सहज बनाउने बताए । मन्त्री बस्नेतले  सिन्धुपाल्चोक र मेलम्चीको विकासका लागि आफूले बागमती प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूसँग पनि सहकार्य गरेर बढीभन्दा बढी योजना ल्याउन पहल गरेको जिकिर गरे ।

उद्घाटन समारोहमा प्रधानसेनापति शर्माले नेपाली सेनाले सधैँ नेपाली जनताको सुखदुःखमा साथ दिँदै आइरहेको भन्दै मेलम्ची बेलिब्रिज निर्माण पनि यसकै एक ज्वलन्त उदाहरण भएको बताए ।  “नेपाली सेना नेपाली जनताको साझा सम्पत्ति हो । आज यहाँ बेलिब्रिजको निर्माणले स्थानीयवासीलाई सबै दृष्टिकोणले सहयोग पुग्ने अपेक्षा गरेका छौँ”, उनले भने ।

कार्यक्रममा बाग्मती प्रदेशसभा सदस्य कृष्णकुमार तामाङले स्वास्थ्यमन्त्री बस्नेतको अथक प्रयास र दृढ सङ्कल्पका कारण मेलम्ची बेलिब्रिज समयमै सम्पन्न भएको बताए । उनले बेलिब्रिज निर्माणमा नेपाली सेनाको सहयोगप्रति कृतज्ञता व्यक्त गरे ।

उद्घाटन कार्यक्रममा सिन्धुपाल्चोकका विभिन्न नगरपालिका, गाउँपालिकाका पदाधिकारी, सरकारी अधिकारी, राजनीतिक दलका नेता, कार्यकर्ता, नागरिक समाज र सर्वसाधारणको उपस्थिति थियो ।

बेलिब्रिजले स्थानीयवासी हर्षित 
विसं २०७८ को साउनमा बाढीका कारण मेलम्ची बजारदेखि इन्द्रावती नगरपालिका, पाँचपोखरी गाउँपालिका र जिल्ला सदरमुकाम जोड्ने ‘कम्पोजिट बृज’ बगाएपछि  स्थानीयवासीलाई आवतजावतमा कठिनाइ भएको थियो ।

इन्द्रावती गाउँपालिका–२ का वडाअध्यक्ष श्यामबहादुर गिरीले नवनिर्मित बेलिब्रिजले स्थानीयवासीलाई राहत मिलेको बताए । उनले भने, “तीन वडा जोड्ने यस पुलले नदी वारिपारि व्यापार गर्न र आफन्तजनबीचको भेट्घाटलाई सहज बनाएको छ । तर बेलिब्रिजले वर्षायामलाई थेग्न सक्छ÷सक्दैन भन्ने डर स्थानीयवासीमा अझै छ ।”

वडा नं १० का बासिन्दा शान्ति मिजारको परिवार किनमेलदेखि बालबच्चाको विद्यालयका लागि वडा ११ मा निर्भर छ । बेलिब्रिजको निर्माणले दुई वर्षदेखि भोग्दै आएको समस्याबाट मुक्त भएको भन्दै ६५ वर्षीया मिजारले हर्ष व्यक्त गरे ।
“बाढीले सबै बगाएर लगेको थियो । त्यसपछि पनि पुल नबन्दा दैनिक सास्ती खेप्दै आएका थियौँ” उनले भने, “यही पर पाँच मिनेटको पैदल दूरीमा वडा नं ११ मा बालबच्चा पढ्छन । पुल नहुँदा तीन घण्टा हिँडेर विद्यालय जानुपर्ने बाध्यता आजबाट अन्त्य भएको छ ।”

यता, वडा नं ११ का स्थानीयवासी रामकुमार तामाङ भन्छन्, “दुई वर्षसम्म अस्थाई विकल्पका रूपमा प्रयोग गर्दै आएको पुल भर्खरै बग्यो । धन्न आज बेलिब्रिजको उद्घाटन भयो । अब छ÷सात किलोमिटर हिँडेर वारपार गनुपर्ने बाध्यता अन्त्य भएको छ ।”

गत जेठ महिनामा नेपाली सेनाले उक्त बेलिब्रिज निर्माणको जिम्मेवारी पाएको थियो । नवनिर्मित बेलिब्रिजको लम्बाइ ६७ दशमलव ७० मिटर, चौडाइ चार दशमलव दुई मिटर तथा अधिकतम भारवहन क्षमता १८ टन रहेको छ ।रासस