कर्णालीमाथि रोमाञ्चक जित निकाल्दै जनकपुर एनपीएलको फाइनलमा

काठमाडौं,  ४ पुष – अलराउन्डर जिम्मी निसम नायक बनेपछि दोस्रो क्वालिफायरमा कर्णाली याक्सविरुद्ध दुई विकेटको रोमाञ्चक जित निकाल्दै जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा स्थान बनाएको छ । अब जनकपुरले उपाधिका निम्ति सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ ।

हारसँगै प्रतियोगितामा तेस्रो स्थान निश्चित गरेको कर्णालीले २५ लाख रुपैयाँ पुरस्कार पाउने भएको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शीर्षक्रम धराशायी बने पनि अलराउन्डर जिम्मीले इनिङ सम्हालेपछि जनकपुरले ११९ रनको लक्ष्य १९ ओभरमा आठ विकेट गुमाएर पूरा गर्‍यो । त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको कर्णालीले २० ओभरमा नौ विकेट गुमाएर ११८ रन बनाएको थियो ।

जनकपुरको जितमा अलराउन्डर जिम्मी निसमले सर्वाधिक ४५ रन बनाए । आक्रामकरूपमा प्रस्तुत भएका निसमले करिब २६५ को स्ट्राइक रेटमा ब्याटिङ गर्दै १७ बलमा दुई चौका र पाँच छक्का प्रहार गरे । निसमलाई १५.३ ओभरमा विपीन शर्माले बोल्ड गरे । निसम आउट हुँदा जनकपुरलाई जितका निम्ति २७ बलमा २५ रनको आवश्यकता थियो । सोही ओभरको अन्तिम बलमा विपीनले जनकपुरका मोहमद मोहसिनलाई एलबीडब्लूको धरापमा पारेपछि खेल रोमाञ्चक मोडमा पुगेको थियो ।

९६–७ को स्थितिबाट जितका निम्ति २३ रन आवश्यक हुँदा आठौँ विकेटका निम्ति शेर मल्ल र मयन यादवले १९ रनको साझेदारी गर्दै जनकपुरलाई जित नजिक पुर्‍याएका थिए । तर, १९औँ ओभरको चौथो बलमा दुई रन लिन खोज्दा मयन रनआउट भएपछि खेल पुनः ‘थ्रिलर’ मोडमा पुगेको थियो । जतिबेला जनकपुरलाई जितका निम्ति आठ बलमा चार रनको आवश्यकता थियो । तर, मयन आउट भएपछि पनि नन्दन यादवले गरेको उक्त ओभरको पाँचौँ र छैटौँ बलमा शेर मल्लले समान दुई रन लिएपछि जनकपुरले रोमाञ्चक जित पक्का गरेको हो ।

निसम स्कोरबोर्डमा ४१–४ को स्थितिमा ब्याटिङका निम्ति आएका थिए । उनले ५८–५ को स्थितिबाट छैटौँ विकेटका निम्ति मयन यादवसँग ३८ रनको साझेदारी गरेका थिए ।

जनकपुरले दोस्रो ओभरको तेस्रो ओभरमा पहिलो विकेट गुमायो । जनकपुरका ओपनर सुवास कंशाकारलाई विपीन शर्माले कप्तान सोमपाल कामीबाट क्याच गराए । उनले तीन रन जोडे । जतिबेला जनकपुरको स्कोरबोर्डमा नै रनमात्रै थियो ।

स्कोरबोर्डमा नौ रन नै हुँदा जनकपुरले अर्का ओपनर आसिफ शेखलाई पनि गुमायो । आसिफलाई तेस्रो ओभरको तेस्रो बलमा कप्तान सोमपाल कामीले मयन यादवबाट क्याच गराए । आसिफले चार रनमात्रै बनाए ।

पाँचौँ ओभरको दोस्रो बलमा जनकपुरले लहिरु मिलान्थालाई गुमायो । मिलान्थालाई विलियम बोसिस्टोले मयनबाटै क्याच गराए । मिलान्थाले पनि दुई रनमात्र बनाउन सके ।

जनकपुरले चौथो विकेट १०औँ ओभरको अन्तिम बलमा गुमायो । जनकपुरका आकाश त्रिपाठीलाई जिसान मक्सुदले विकेटकिपर चान्डविक वाल्टनबाट क्याच गराए । आकाशले १३ रन बनाए ।

पाँचौँ विकेट जनकपुरले १२औँ ओभरको अन्तिम ओभरमा गुमायो । जनकपुरका हर्ष थाकेरलाई जिसान मक्सुद र बोसिस्टोले रनआउट गरे । थाकेरले १७ रन थपे ।

जनकपुरले सातौँ विकेट १६औँ ओभरको अन्तिम बलमा गुमायो । जनकपुरका मोहमद मोहसिनलाई विपीन शर्माले एलबीडब्लूको धरापमा पारे ।

कर्णालीका विपीन शर्माले तीन विकेट लिए । चार ओभर बलिङ गरेका विपीनले १७ रनमात्र खर्चिए । कप्तान सोमपाल कामी, विलियम बोसिस्टो र जिसान मक्सुदले समान एक विकेट हात पारे ।

त्यसअघि कर्णालीका अलराउन्डर गुल्सन झाले सर्वाधिक ३५ रन बनाए । १७औँ ओभरको पहिलो बलमा मोहमद मोहसिनबाट बोल्ट हुनुअघि गुल्सनले २० बलमा एक चौका र दुई छक्का प्रहार गरे ।

ओपनर देव खनालले २० बलमा तीन चौका र एक छक्कासहित २४ रन जोडे । देवलाई छैटौँ ओभरको पहिलो बलमा जिम्मी निसमले आकाश त्रिपाठीबाट क्याच गराए ।

यसबाहेक, विलियम बोसिस्टोले १५ बलमा एक चौकासहित १४ रन बनाए । जिसान मक्सुदले ११ बलमा दुई चौकासहित १२ र चान्डविक वाल्टनले १३ बलमा एक चौकासहित ११ रन थपे ।

कर्णालीविरुद्ध जनकपुरका ललितनारायण राजवंशी, मोहमद मोहसिन र जिम्मी निसमले समान दुई विकेट लिए । चार ओभर बलिङ गरेका ललितले २२ रन खर्चिए । चार ओभर नै बलिङ गरेका मोहसिनले एक मेडन फ्याँक्दै १४ रनमात्र खर्चिए ।

यसबाहेक, हर्ष थाकेर र शेर मल्लले समान एक विकेट लिए ।

प्रतियोगितामो लिग चरणबाट दोस्रो स्थानमा रहँदै प्लेअफमा आएको जनकपुर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग आठ विकेटले पराजित भएको थियो । लिग चरणबाट चौथो स्थानमा रहँदै प्लेअफमा आएको कर्णालीले भने इलिमिनेटरमा चितवन राइनोजविरुद्ध २१ रनको जित निकाल्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो ।

जितसँगै फाइनलमा स्थान बनाएको जनकपुरले अब उपाधिका निम्ति सुदूरपश्चिम रोयल्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको फाइनल खेल शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमै हुने तालिका छ ।