images
images

‘आमाको नामबाट लिने व्यवस्था हुनुपर्छ’

पाटन (ललितपुर), ४ पुस – पूर्वसञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले आमाको नामबाट नागरिकता लिने विषय संविधानमा नै व्यवस्था गरेर कानुन बनाउनुपर्ने बताउनुभएको छ ।
मिडिया एड्भोकेसी ग्रुप (म्याग)ले आज आयोजना गरेको ‘संविधान संशोधनमा नागरिकताको मुद्दा’ विषयक कार्यक्रममा पूर्वमन्त्री शर्माले बाबुको पहिचान खुलाउन नचाहेको अवस्थामा स्वतन्त्र ढङ्गले नागरिकता दिने सन्दर्भमा महिलालाई अधिकार नहुँदा समस्या भएकाले संविधान संशोधन आवश्यक रहेको बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)की नेतृ शर्माले भन्नुभयो, “सम्पत्तिमाथि छोरा र छोरीको समान अधिकारको व्यवस्था गरिए पनि प्रभावकारी कार्यान्वयनमा आउन सकेको छैन, आमाको नामबाट नागरिकता दिने विषय र बाबुको पहिचान खुलाउन नचाहेको अवस्थामा संविधानमा नै व्यवस्था गरेर अगाडि बढ्नुपर्ने आवश्यकता छ ।”
नेपाली कांग्रेसकी नेतृ एवं पूर्वमन्त्री सीता गुरुङले महिला समानता, सहभागिता र सामाजिक न्यायका कुरालाई कानुनमा लेख्ने कुरामा ज्यादै सङ्घर्ष गर्नुपरेको बताउँदै राज्य संरचना र मानसिकता महिलामैत्री नहुँदा समस्या भएको धारणा राख्नुभयो । नेपाल कम्युनिष्ट पार्टी (एमाले)की नेतृ विद्या पाण्डेले संविधान संशोधन गरेर आमनेपालीले सहजै नागरिता पाउन सक्नेगरी नागरिकतासम्बन्धी ऐन संशोधन गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा कानुनविज्ञ सविन श्रेष्ठलगायत सहभागी सरोकारवालाहरूले आ–आफ्नो धारणा र भोग्नुपरेका समस्या जानकारी गराउनुभएको थियोे । रासस