काठमाडौं, ८ पुष – परराष्ट्रमन्त्री आरजु राणा देउवा भारतको नयाँ दिल्लीबाट आज स्वदेश फर्किँदैछिन्। उनको सचिवालयका अनुसार दिल्लीस्थित एपोलो अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गराएर उनी आज स्वदेश फर्कन लागेकी हुन्।
उनले सो अस्पतालमा बाइल्याटरल टोटल हिप रिप्लेस्मेन्ट (टिएचआर) को ‘फलो अप’ स्वास्थ्य परीक्षण गराएकी थिइन्। त्यसका लागि उनी शुक्रबार भारतको नयाँ दिल्ली पगेकी थिइन्। नेदरल्याण्डको हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा नेपालका तर्फबाट जलवायु न्याय (क्लाइमेट जस्टिस) माग्न उनी मंसिर २४ मा त्यसतर्फ गएकी थिइन्।
उनी बेल्जियम र जर्मनीमा पनि द्विपक्षीय भेटघाट र कार्यक्रममा सहभागी भएकी थिइन्। त्यतैबाट नयाँ दिल्ली पुगेकी उनले शुक्रबार इन्डो नेपाल आर्थिक सम्मेलनलाई भने सम्बोधन गरेकी थिइन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि झापाको एक कार्यक्रमलाई सम्बोधन गर्दै आफू अब चाँडै भारत भ्रमणमा जाने तयारी थाल्ने घोषणा गरेपछि त्यसको चर्चा सुरूभएसँगै परराष्ट्रमन्त्री भारत गएका कारण त्यहाँ उनले आफ्ना समकक्षी एस जयशंकर तथा सरकारी अधिकारीहरूसँग भेट्ने चर्चा नेपालमा भएको थियो।
तर मन्त्री राणाको त्यस्तो कुनै औपचारिक भेटवार्ता भने भएन। यो भ्रमण स्वास्थ्य उपचारको फलोअपका लागि मात्र भएको उनका प्रेस सल्लाहकार एकराज पाठकले जानकारी दिए। यस पटकको भारत भ्रमणमा त्यहाँका मन्त्री तथा नेताहरूसँग भेटघाटको कुनै औपचारिक कार्यक्रम नै नरहेको पाठकले बताए।