काठमाडौँ —नेकपा एमालेले नेताहरू भीम रावल, स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई कारबाही गरेको छ ।
बुधबार बसेको सचिवालय बैठकले रावललाई साधारण सदस्यबाट समेत निष्कासन गरेको हो भने पाण्डे र तिम्सिनालाई ६ महिनाका लागि निलम्बन गरेको हो ।
व्यापारी मीनबहादुर गुरुङले पार्टीका लागि कीर्तिपुरमा १० रोपनीभन्दा बढी जग्गामा अत्याधुनिक भवन बनाइदिन शिलान्यास गरेपछि कम्युनिष्ट पार्टीको आचरणविपरीत दान लिन नहुने भन्दै तीन जनाले विरोध गरेका थिए। उनीहरुलाई प्रष्टीकरण सोध्दै पार्टीले कारबाहीको तयारी गरेको थियो।
सर्वोच्च अदालतले त्यसविरुद्ध परेको रिट खारेज गर्दै एमालेलाई दान लिन बाटो खुला गरिदिएपछि अध्यक्ष केपी शर्मा ओलीले त्यसविरुद्ध फरक मत राख्ने नेताहरूमाथि कारबाही गरेका हुन्।
एमालेमा बहस छलफल र फरक मत निषेध रहेको अवस्थामा ओलीको कदमप्रति विमति राख्नेहरूविरुद्ध उनले कडा कदम चालेका हुन्।
सचिवालय बैठकले पुस २१ र २२ गते केन्द्रीय कमिटिको बैठक बोलाउने निर्णय पनि गरेको छ।