एसपी यादव/सर्लाही,
पुस १३ गते । बुधबारका दिन कविलासी नगरपालिकाले गरेको पत्रकार सम्मेलन मिडिया ट्रायल मात्र भएको सोहि नपाका पुर्व मेयर कौशल किशोर यादवले शुक्रबार एक पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन् ।
पुर्व मेयर यादवका अनुसार, आफ्नो कार्यकालमा भएका बिकास निर्माणका विभिन्न कार्यहरूलाई समेत वर्तमान मेयर ब्रह्मदेव रायले आफुले नै गरेको भनेर जनतालाई भ्रममा पार्ने प्रयास गर्नु सरासर गलत कुरा भएको उनले बताएका छन् । संघ र प्रदेश सरकारको योजनालाई पनि वर्तमान मेयरले पालिकाको योजना भएको बताउदै जनतालाई झुक्याउने काम गरेको पुर्व मेयर यादवको जिकिर थियो ।
पुर्व मेयर यादव भन्छन् , २०७४ सालको स्थानीय निर्वाचनमा राजपा पार्टीबाट आफु निर्वाचित भएपश्चात् पालिका र जनताको हितमा निरन्तर लागिपरेका थिए । जसको फलस्वरूप पालिका विभिन्न सूचकांकमा जिल्लाकै उच्च स्थानमा थियो । तर वर्तमान मेयरका कारणले पालिकाको साख गिरेको उनले बताए । दुइ तिहाई बहुमत भएको यस स्थानीय सरकारको काम कारबाही नै योजनाबद्ध रुपमा नदेखिएको पुर्व मेयर यादव बताउँछन् ।
निर्माण सम्पन्न भइसकेका प्राविधिक विद्यालय, बर्थिङ सेन्टर, पशु सेवा केन्द्र लगायतका भवनहरु प्रयोग बिहिन अवस्थामा रहेको भन्दै उनले तत्काल संचालन गरि प्रयोगमा ल्याउन सुझाए । निर्माणाधीन रहेको रनियाको १५ सैयाको अस्पताल र नपाको प्रशासनिक भवनमा समेत कुनै कार्य प्रगति नभएको पुर्व मेयर यादवले जनाए ।
वर्तमान मेयर रायले नगरपालिकाले अढाई वर्षको कार्यकालमा सडक, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा गरेको कामको प्रगति विवरण गत बुधबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको थियो । तर पुर्व मेयर यादवले सो विवरण झुठो भएको दावी गर्दै अढाई वर्षको अवधीमा नगरपालिकाले १० प्रतिशत मात्र काम गरेको उनले ठोकुवा गरे ।
२०७९ सालको स्थानीय निर्वाचनमा जसपा नेपाल पार्टीबाट कविलासी नपा- ६ का वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका राम गोविन्द यादवका अनुसार, वर्तमान मेयरको अहिलेसम्मको कार्यकाल असफल रहेको छ । आ.व. २०८०/०८१ मा विभिन्न शिर्षकको करोडौं रुपैया फ्रीज भएको उनले बताए । वडा स्तरमा आफ्नो सक्रियतामा विभिन्न बिकास निर्माणका कामहरु सम्पन्न भएको उनले जानकारी गराएका छन् ।
पुर्व मेयर कौशल किशोर यादव अहिले जसपा नेपाल पार्टीमा आवद्ध रहेका छन् । भने वर्तमान मेयर ब्रह्मदेव राय नेपाली काङ्ग्रेस पार्टीबाट २०७९ सालको स्थानीय निर्वाचनमा विजयी भएका थिए ।
मलंगवा स्थित जानकी पार्टी प्यालेसमा “कविलासी नगरपालिकाकाे काम कारवाहिमा भईरहेकाे बेथिति” का विषयमा जानकारी तथा खबरदारी गराउन आयोजित पत्रकार सम्मेलनमा जसपा नेपाल पार्टीका जिल्ला, प्रदेश र केन्द्रिय तहका नेता तथा कार्यकर्ताहरु, नागरिक समाज, बुद्धिजीवि, कर्मचारी, कृषक वर्ग, पत्रकार र आम जनसमुदाय समेतको भव्य उपस्थिती रहेको थियो ।