काठमाडौँ – खानेपानीमन्त्री प्रदीप यादवले आगामी वर्षदेखि बर्खामा पनि काठमाडौँमा मेलम्चीको पानीको आपूर्ति बन्द नहुने बताएका छन्।
आज मन्त्रालयमा सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा मन्त्री यादवले विगतका बर्खामा काठमाडौँमा पानी आपूर्ति बन्द हुने भए पनि अब भने बाह्रै महिना पानी आपूर्ति गर्ने गरी काम भइरहेको बताए।
उनले भने, ‘विगतमा बर्खा सुरु हुने बित्तिकै मेलम्चीबाट आउने पानी बन्द हुन्थ्यो, अब भने बर्खामा पनि ल्याउने गरी काम गरिरहेका छौँ।’
मन्त्री यादवले अहिले पनि विभिन्न जिल्लाका नागरिकले डोकोमा पानी बोक्नुपर्ने अवस्था कायमै रहेकाले नागरिकले खानेपानी डोकोमा बोकेर जोहो गर्नुपर्ने अवस्थाको अन्त्य गर्नका लागि मन्त्रालयले ठोस कदम चालिरहेको उल्लेख गरे।
मन्त्री यादवले मेलच्नी नजिकैको अर्को खोलाको पानी पनि काठमाडौँ ल्याउने विषयमा अध्ययन भइरहेको बताए। मेलम्चीको पानी कुनै कारणबस ल्याउन नमिल्ने अवस्थाको विकल्पमा मकवानपुरको सिस्नेरी खोलाबाट काठमाडौँ पानी ल्याउने गरी काम भइरहेको उनको भनाइ थियो।