images

रुसका लागि श्रम स्वीकृति खुलाउन पहल गरिने

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले रुसका लागि छिट्टै श्रम स्वीकृति खुलाउन आवश्यक पहल गर्ने बताएका छन् ।

गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा. बद्री केसीसँग शुक्रबार भएको विशेष भेटमा मन्त्री भण्डारीले उक्त प्रतिबद्धता जनाएका हुन् ।

‘यस सम्बन्धमा खासै धेरै समस्या छैन, परराष्ट्र मन्त्रालयसँग समन्वय गरी छिट्टै श्रम स्वीकृति खुला गर्छौ, उनले भने ।

भेटमा सङ्घको तर्फबाट अध्यक्ष डा. केसीले तत्कालीन अवस्थालाई ध्यानमा राखी नेपाल सरकार मन्त्रिपरिषद्ले गरेको निर्णयमा पुनरावलोकनका लागि पहल गरिदिई वर्षौदेिख विभिन्न रोजगार, पेशा, व्यवसाय एवं उच्च शिक्षा अध्ययन गर्न रसियामा बसिरहेका हजारौं नेपालीहरुका लागि सहज रुपमा आवतजावतका लागि श्रम स्वीकृति एवं नवीकरण कार्यलाई तत्काल सुचारु गरिदिन अनुरोध गरेका थिए ।

भेटमा मन्त्री भण्डारीलाई बुझाइएको पत्रमा वैदेशिक रोजगारीबाट फर्केका श्रमिकहरुको ज्ञान, सीप र पूँजीलाई स्थानीय तहमार्फत परिचालन गर्न तथा उनीहरुलाई नीतिगत रुपमा सहयोग उपलब्ध गराउंँदै पुर्नएकीकरण गर्न, गैरआवासीय नेपाली लक्षित विप्रेषण तथा लगानीलाई प्रोत्साहन गर्ने खालको कार्यक्रम ल्याउन एवं पुरस्कार र सम्मानको व्यवस्था गर्न, वैदेशिक रोजगारीमा जानेहरुलाई अनिवार्य रुपमा अभिमुखीकरण सीप दिन, सातै वटा प्रदेशमाव्यवसायिक सीप शिक्षा केन्द्र खडा गरी दक्ष जनशक्ति मात्र विदेश पठाउने व्यवस्था गर्न, वैदेशिक रोजगारीबाट आउने विप्रेषणलाई वैधानिक रुपमा बैकिङ्ग च्यानल मार्फत ल्याउन प्रोत्साहन गर्ने उद्देश्यले नेपाली श्रमिकलाई उनीहरुले पठाएको विप्रेषणमा २ प्रतिशतसम्म प्रिमियम नेपाल सरकारले उपलब्ध गराउने व्यवस्था गर्न अनुरोध गरिएको छ ।

उक्त भेटमा रुसका लागि नेपालका राजदूत प्रा.डा.जंगबहादुर चौहृान पनि उपस्थित थिए ।