images
images

पार्टीले अभिभावक गुमाउनुपरेको यो दु:खद घडी [ शोक वक्तव्य सहित ]

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको  निधनबाट पार्टीले अभिभावक गुमाउनुपरेको बताएको छ।

पार्टीका महासचिव देव गुरूङले शोक वक्तव्य जारी गर्दै सीता दाहालको निधनबाट पार्टीले क्षति बेहोरेको बताएका हुन्।

‘कमरेड सीता दाहालको निधनबाट पार्टी, जनता र राष्ट्रका लागि अपुरणीय क्षति भएको छ। उहाँले नेपालको कम्युनिष्ट आन्दोलनमा अत्यन्त महत्वपूर्ण र अविस्मरणीय योगदान पुर्‍याउनुभएको छ। सिद्धान्तप्रतिको निष्ठा, उन्नत राजनीतिक चेतना, पार्टी, जनता र राष्ट्रप्रतिको निःस्वार्थ एवम् असिमीत समपर्ण उहाँका विशेषता हुन्। उहाँ आफ्ना योगदानमार्फत् चीरकालसम्म स्मरणीय र भावी पुस्ताका लागि प्रेरणाको स्रोत रहनु हुनेछ,’ गुरूङले जारी गरेको शोक वक्तव्यमा भनिएको छ।

प्रधानमन्त्री पत्नी सीता २०११ असार २१ गते कास्कीमा जन्मिएकी हुन्।

२०२६ सालमा उनको प्रधानमन्त्री प्रचण्डसँग विवाह भएको हो।

२०२८ सालदेखि नै कम्युनिस्ट आन्दोलनमा सक्रिय उनी पञ्चायतीकालमै भूमिगत रहेको पार्टीले बताएको छ।

‘सीता दाहालले देशमा जनयुद्ध सुरुआत भएपछि २०५२ सालदेखि भूमिगत राजनीतिमा सक्रिय रहँदै जनयुद्धका आँधीमय वर्षहरूमा सिंगो पार्टीको अभिभावकका रूपमा पार्टीभित्रका चुनौती, संकट, विवाद समाधानका निम्ति समन्वयकारी भूमिका निर्वाह गर्नुभएको थियो । पछिल्लोसमय उहाँ पार्किन्सनजस्तो दुर्लभ रोग लगायतका रोगहरूबाट ग्रसित हुँदै आउनुभएको थिया,’ विज्ञप्तिमा भनिएको छ, ‘भरतपुर महानगरपालिका वडा नं १४ स्थायी ठेगाना भएकी दाहालका चार सन्तानमध्ये जेठी छोरी ज्ञानु दाहालको क्यान्सर र छोरा प्रकाश दाहालको हृदयघातका कारण निधन भइसकेको छ।’

सल्लाहकार दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज बिहान ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा र दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्तेष्टि गर्ने कार्यक्रम रहेको छ।