images

राज्य व्यवस्था समितिमा परे ९२ उजुरी, अध्ययन गर्न उपसमिति गठन गरिने

काठमाडौँ – प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा ९२ वटा उजुरी परेका छन्।

सोमवार सिंहदरबारमा बसेको समिति बैठकमा सभापति रामहरि खतिवडाले ९२ वटा उजुरी परेकोमा ५८ वटा उजुरी दर्ता गरिएको जानकारी दिए। उनले बाँकी ३४ वटा उजुरी अध्ययनका क्रममा रहेको बताए।

उजुरीहरुबारे अध्ययन गर्न उपसमिति गठन गरेर अघि बढ्ने सभापति खतिवडाको भनाइ छ। उनले कतिपय उजुरी समितिको कार्यक्षेत्रमा नपर्ने भएका कारण समितिको नियमावलीअनुसार सर्वसाधारणबाट प्राप्त उजुरीका सन्दर्भमा सुनुवाई गर्ने बताए।

‘अहिलेसम्म ५८ वटा उजुरीहरु सचिवालयमा दर्ता भएका छन्। कतिपय बेनामेहरु, चिठीबाट आएका अन्य ३४ वटा गरी ९२ वटा उजुरीहरु समितिमा पुगेका छन्‚’ उनले भने, ‘उजुहरीहरुको सम्बन्धमा के गर्ने भनेर हामीले एउटा उपसमिति बनाउँछौँ। कतिपय उजुरीहरु हाम्रो कार्यक्षेत्रभित्र पर्छन्‚ कतिपय पर्दैनन्। हाम्रो समितिको नियमावलीमा सर्वसाधारणबाट प्राप्त उजुरीहरुको सुनुवाई गर्ने भनेर उल्लेख गरिएको रहेछ।’

बैठकमा अधिकांश सांसदहरुले समितिमा प्राप्त उजुरीहरुको अध्ययन उपसमिति गठन गर्नुपर्ने धारणा राखेका थिए। उपसमितिको प्रतिवेदनको आधारमा कार्यक्षेत्रभित्र पर्ने उजुरीहरुमा सुनुवाई गर्नुपर्ने बताए।