काठमाडाैँ, २४ पुष – लघुवित्त कम्पनीले अब नेपाल राष्ट्र बैंकको लगानी रहेका कम्पनीमा लगानी गर्न पाउने भएका छन्। राष्ट्र बैंकले (घ) वर्गको इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थाका लागि एकीकृत निर्देशन २०७९ जारी गर्दै लगानीको बाटो खोलिदिएको हो।
नेपाल लघुवित्त वित्तीय संस्थाले संगठित संस्थाको सेयर, डिबेन्चर तथा सामूहिक लगानी कोषमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लगानी गर्न नपाइने व्यवस्था गरेकामा राष्ट्र बैंकले नेपाल राष्ट्र बैंकको लगानी रहेका संस्थामा भने लगानी गर्न पाउने व्यवस्था गरेको हो।
निर्देशनमा भनिएको छ, ‘नेपाल राष्ट्र बैंकको कामरकारबाही वा दायित्व पूरा गर्न सहयोग पुग्ने उद्देश्यले राष्ट्र बैंकको लगानी समेतमा स्थापित नेसनल बैकिङ इन्स्टिच्युट, नेपाल क्लियरिङ हाउस, कर्जा सूचना केन्द्रलगायतका संस्थाहरूमा र नेपाल फिनसफ्ट कम्पनीमा लगानी गर्न यस व्यवस्थाले बाधा पुगेको मानिने छैन।’
यसबाहेकका संगठित संस्थाको सेयर, डिबेन्चर तथा सामूहिक लगानी कोषमा लगानी गरेमा सो रकमलाई पुँजीकोष गणना गर्दा प्राथमिक पुँजीबाट घटाउनुपर्ने समेत व्यवस्था गरेको छ।
यस्तै राष्ट्र बैंकले निर्देशनमार्फत कार्यकारी प्रमुख पदमा पनि थप कडाइ गरेको छ। जसमा संस्थाको चुक्तापुँजी १ प्रतिशत वा सो भन्दा बढी सेयर धारण गर्ने सेयरधनी र निजको एकाघरका परिवारका सदस्यले सो संस्थाको सञ्चालक तथा कार्यकारी प्रमुख पदमा बाहेक अन्य पदमा नियुक्त हुन नपाउने व्यवस्था छ।
चुक्ता पुँजी ५ प्रतिशत वा सोभन्दा बढीको सेयर स्वामित्व भएका व्यक्ति पनि सो संस्थाको कार्यकारी प्रमुख पदमा बस्न नपाउने व्यवस्था गरिएको हो।
तर, थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाले गाभ्ने/गाभिने तथा प्राप्तिपूर्व प्रवाह गरेको कर्जाको हकमा साविक बमोजिमको भुक्तानी तालिका अनुसार कर्जा असुल गर्न यस व्यवस्थाले बाधा नमान्ने जनाइएको छ ।