काठमाडौं, २५ पुष – अमेरिकाको लस एन्जलसको जङ्गलमा लागेको आगलागीका कारण बिहीबार बिहानसम्म पाँच जनाको मृत्यु भएको छ । लस एन्जलस सेरिफको कार्यालयले यसको पुष्टि गरेको छ ।
वनमा लागेको आगलागीका कारण थप तीन जनाको मृत्यु भएको कार्यालयले जनाएको छ । यसअघि अधिकारीहरूले दुई जनाको मृत्यु भएको पुष्टि गरेका थिए ।
लस एन्जलस काउन्टी फायर चीफ एन्थोनी मार्रोनका अनुसार इटनको आगो अहिले १० हजार ६०० एकड जमिनमा फैलिसकेको छ । धेरैतिर फैलिएकाले नियन्त्रणमा आउन सकेको छैन ।
उनले भने, ‘दुर्भाग्यवश पाँच नागरिकको मृत्यु भएको छ र केही घाइते भएका छन् । हालसम्म एक हजारभन्दा बढी घर तथा भवनहरू क्षतिग्रस्त वा पूर्णरुपमा ध्वस्त भएका छन् ।’
लस एन्जलसको जङ्गलमा लागेको आगो लगातार फैलिरहेको छ । आगो अझै फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै यहाँ आपत्काल घोषणा गरिएको छ । र, सर्वसाधारणलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।
बिहीबार बिहान हवाइजहाजको सहयोगमा पानी छर्केर आगो नियन्त्रणको प्रयास भइरहेको छ ।