काठमाडौं, २५ पुष – राष्ट्रिय उपभोक्ता मञ्चले सिमेन्टमा भइरहेको कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्न माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र पठाएको छ ।
मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बिहीबार एक पत्र पठाउँदै मञ्चको आन्तरिक अनुगमनमा सिमेण्टको मूल्य अस्वभाविक रूपमा वृद्धि गरेको पाइएकाले त्यसको नियन्त्रण गर्न प्रधानमन्त्री ओलीलाई अनरोध गरेका हुन् ।
एक वर्षअघिसम्म सिमेण्ट प्रतिबोरा पाँच सय रूपैयाँमा प्राप्त भइरहेको अवस्थामा हाल मूल्यवृद्धि गरेर ओपीसी सिमेन्टको प्रतिबोरा खुद्रा मूल्य नै नौ सय रूपैयाँसमम्म पुर्याएको पाइएको मञ्चले जनाएको छ ।
सिमेण्टसँगै भौतिक निर्माणका लागिचाहिने डण्डीको मूल्य हालसम्म पनि साविककै दररेटअनुसार प्रतिकिलो अधिकतम ९५ रूपैयाँ, खोलाको बालुवा प्रतिक्यूफिट १२ रूपैयाँ र रोडा प्रतिक्यूफिट १४ रूपैयाँमा पाइरहेको अवस्थामा सिमेण्टको मूल्य अस्वाभाविक रूपमा बढाएको पाइएको मञ्चको भनाइ छ ।
मञ्चले पठाएको पत्रमा भनिएको छ, ‘हामीलाई प्राप्त जानकारीअनुसार सरकारी सिमेण्ट उद्योगहरू हेटौंडा सिमेण्ट र उदयपुर सिमेण्ट उद्योगले आफनो उत्पादन नियमित रूपमा बजारमा पठाउन नसक्दा निजी क्षेत्रका सिमेण्ट उद्योगहरूले सिण्डिकेटिङ र कार्टेलिङ गरी अफसिजनमा घाटामा सिमेण्ट बिक्री गर्नुपरेको तथा नेपाल विद्युत प्राधिकरणले जबरजस्ती डेडिकेटेड लाइन प्रयोग गरेबापतको महसुल उठाउन लागेको कारणले मूल्य बढाउनुपरेको भन्दै अस्वाभाविक रूपमा कृत्रिम मूल्य बढाउने काम गरेको हुँदा तत्काल यस्ता गैरकानुनी काम गरी मूल्य बढाउने सिमेण्ट उद्योगहरूलाई कारबाहीको दायरामा ल्याई मूल्यवृद्धि नियन्त्रण गर्नुको साथै देशको भौतिक पूर्वाधार निर्माणलाई तेजोगति दिन हुनको लागि सम्माननीय प्रधानमन्त्रीज्यूसमक्ष हार्दिक अनुरोध गर्दछौं ।’
हेर्नुहाेस् मञ्चकाे पत्र-