पोखरा, २५ पुष – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले थुनामुक्त गरिदिएमा सहकारी पीडितको रकम फिर्ता गर्ने पहल गर्ने जनाएका छन् । जिल्ला अदालत कास्कीमा आरोपीलाई कुरा राख्ने समय दिएपछि अदालतको इजालासमा उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
‘पीडितको बचत फिर्ता ल्याउन पहल गर्छु, बाहिरै बसेर पुर्पक्ष गर्ने व्यवस्था होस्, बिगतमा गृहमन्त्री हुँदा पनि मैले कुनै शक्ति दुरुपयोग गरिनँ । अब पनि दुरुपयोग गर्ने अवस्था छैन,’ न्यायधिस समक्ष लामिछानेले प्रतिबद्धता जनाएका हुन् । आज लामिछानेसहित सूर्यदर्शन सहकारी ठगी मुद्दामा पक्राउ परेका ७ जना आरोपीलाइ अदालत लगिएको छ ।
उनीहरूको थुनछेकदेखि जवाफी बहस सबै सकिएकाले सो मुद्दामा आजै आदेश आउने सम्भावना देखिए पछि सबै सात आरोपीलाइ जिल्ला अदालत कास्की लगिएको हो । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा प्रतिवादी पक्षका वकिल र जाहेरवाला तर्फका वकिलले जवाफी वयान हिजो साँझ सकिएको थियो । बिहिवार सबै आरोपीलाइ कुरा राख्न समय दिइएको थियो ।
रास्वपा सभापति लामिछानेसहित गोर्खा मिडिया प्रालिमा सहकारीको पैसा लगेर हिनामिना गरेको लगायतको आरोपमा पूर्व डिआईजी छविलाल जोशी, लिला पछाईं र रामबहादुर गुरुङलगायत हिरासतमा रहेका छन् । आज सरकारी वकिलले जवाफी बहस गरे पछि सम्भवतः आज नै आदेश आउने सम्भावना रहेको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए ।