काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा अध्यक्ष कमलेश कुमार अग्रवाल सहितका पदाधिकारी र आइएलओ नेपालका कन्ट्री डाइरेक्टर नुमान अन्ज्यनबीच श्रमिक अधिकारबारे छलफल भएको हो।
श्रमिकको न्यूनतम ज्यालालाई उत्पादकत्वसँग जोड्ने विषयमा छलफल भएको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ।
विश्वव्यापी रूपमा नै श्रम आप्रवासको क्षेत्रमा काम गरिरहेको संस्था आईएलओसंग चेम्बरले सम्मानित रोजगार, श्रमिकको उपयुक्त ज्याला, सामाजिक सुरक्षा कोषको दिगोपना लगायतका विषयमा सहकार्य गर्ने चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले बताए।
उनले भने, ‘नेपालमा करिब ८० प्रतिशत रोजगारी निजी क्षेत्रले सिर्जना गरेको र उनिहरूको हक अधिकार सुनिश्चित गर्न चेम्बर अफ कमर्स प्रतिबद्ध रहेको छ।’
नेपालको श्रम कानुनमा रहेको व्यवस्था बदलिदो कार्यशैली र शिप आर्जनमा चुनौतीपूर्ण रहेको अध्यक्ष अग्रवालको भनाइ छ। श्रमिकले लचकतापूर्ण कार्यशैली अपनाउने परम्पराको विकास भइरहेको विषयमा पनि बैठकमा छलफल भएको थियो।
चेम्बर अध्यक्ष अग्रवाल सहितका पदाधिकारीसँग भएको भेटमा आइएलओका कन्ट्री डाइरेक्टर अन्ज्यनले रोजगार दाता र श्रमिक दुवैसँग प्रभावकारी समन्वय गरेर आइएलओले काम गरिरहेको बताए।
साना तथा मझौला उद्योगहरू मुलुकको अर्थव्यवस्थाको मुख्य मेरुदण्ड भएको उनले बताए।