काठमाडौं – इजरायली मन्त्रिपरिषद्ले गाजामा युद्धविराम र बन्धकहरूलाई रिहा गर्न हमाससँगको सम्झौतालाई अनुमोदन गरेको छ । यससँगै यो सम्झौता आइतबारदेखि लागू हुने भएको छ ।
प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालय र हमासले केही घण्टाअघि नै सम्झौताको मस्यौदालाई अन्तिम रुप दिएको बताएको बीबीसीको समाचारमा उल्लेख छ ।
बुधबार अमेरिका र कतारले पहिलो पटक एजरायल र हमासबीच सम्झौताको घोषणा गरेका थिए ।
यसपछि इजरायली मन्त्रिपरिषद्ले बिहीबार नै सहमतिलाई अनुमोदन गर्ने भनिएको थियो । तर प्रधानमन्त्री नेतान्याहुले क्याबिनेटको मतदान स्थगित गर्दै हमासले सम्झौता परिवर्तन गर्न खोजेको आरोप लगाएका थिए ।
शुक्रबार नेतान्याहुको कार्यालयले दोहामा रहेको इजरायली वार्ता टोलीले सम्झौतालाई अन्तिम रूप दिएको घोषणा गरेको थियो ।
हमासले पनि एक विज्ञप्ति जारी गर्दै सम्झौताका सर्तहरूका सम्बन्धमा उठेको ‘अवरोध’ शनिबार बिहान समाधान भएको बताएको छ ।
सहमतिका तीन चरण
सम्झौताको जानकारी दिँदै अमेरिकी राष्ट्रपति जो बाइडनले पहिलो चरण ६ हप्तासम्म चल्ने र ‘पूर्ण युद्धविराम’ हुने बताएका थिए । उनका अनुसार दोस्रो चरणको उद्देश्य ‘युद्धको स्थायी अन्त्य’ हुनेछ ।
तेस्रो र अन्तिम चरणमा गाजाको पुनर्निर्माणका लागि छलफल भएको छ ।
हमासले ७ अक्टोबर २०२३ मा इजरायलमा आक्रमण गरेको थियो । सो हमलामा १ हजार २०० मानिस मारिएका थिए चभने हमासले २५१ जनालाई बन्धक बनाएको थियो ।
यसपछि इजरायलले जवाफी कारबाही गरेको थियो ।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा ४६ हजारभन्दा बढीको मृत्यु भएको छ ।
इजरायलले २५१ बन्धकमध्ये ९४ जना अझै हमाससँग रहेको जनाएको छ । ३४ जना भने मारिएको जनाएको छ ।