images

एकता संवाद गर्न लोसपाले गर्याे दुई सदस्यीय वार्ता टोली गठन

काठमाडौँ, ६ माघ – मधेसमा क्रियाशील विभिन्न राजनीतिक दलसँग एकता संवाद गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले दुई सदस्यीय वार्ता टोली गठन गरेको छ।

लोसपाले आइतबार दुई सदस्यीय वार्ता टोली गठन गरेको अध्यक्ष महन्थ ठाकुरले जानकारी दिएका छन्। वार्ता टोलीमा वरिष्ठ सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्ल र वरिष्ठ उपाध्यक्ष लक्ष्मणलाल कर्ण छन्।

‘वर्तमान राजनीतिक परिस्थिति र आवश्यकतालाई मध्यनजर राख्दै सहकार्य/एकताको संवादलाई छिटोछरितो निष्कर्षमा पुर्‍याउन उच्चस्तरीय वार्ता समिति गठन गरिएको छ,’ ठाकुरले भनेका छन्।

यो समितिले मधेसमा क्रियाशील विभिन्न राजनीतिक दलसँग तत्काल संवाद अघि बढाउने वरिष्ठ उपाध्यक्ष कर्णले बताए।

‘यसअघि गठन गरिएको समितिले गरेका कामहरूको पनि अपनत्व लिँदै वार्ता अघि बढाउनेछौं। यथाशीघ्र सहकार्य र एकतालाई निष्कर्षमा पुर्‍याउनेछौं,’ उनले भने।

गत पुस २१ गते जितेन्द्र सोनलको नेतृत्वमा गठन भएको वार्ता समिति खारेज गरिएको लोसपाले जनाएको छ।