images

कोशी प्रदेशमा पौने ६ खर्ब कर्जा प्रवाह

काठमाडौं, ६ माघ – कोशी प्रदेशमा ५ अर्ब ७८ करोड रुपैयाँ बराबर कर्जा प्रवाह भएको तथ्यांक सार्वजनिक भएको छ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको ‘कोशी प्रदेशको आर्थिक तथा वित्तीय अवस्था : संक्षिप्त विवरण’ अनुसार असार २०८१ सम्म कोशी प्रदेशमा ५ खर्ब ७८ अर्ब रुपैयाँ बराबर कर्जा प्रवाह भएको छ।

यो परिमाण कुल कर्जाको ११.१९ प्रतिशत हो। मुलुकको कुल कर्जा प्रवाह ५१ खर्ब ६४ अर्ब रुपैयाँ बराबर छ।

कोशी प्रदेशमा तोकिएको क्षेत्रमा जारी भएको कर्जा विवरण अनुसार कुल १ खर्ब ७४ अर्ब १८ करोड प्रवाह भएको छ। तीमध्ये सबैभन्दा धेरै कृषि क्षेत्रमा ९५ अर्ब २५ करोड कर्जा प्रवाह भएको छ।

त्यस्तै साना तथा मझौला उद्योगमा ६८ अर्ब २२ करोड, पर्यटनमा १० अर्ब ३९ करोड र ऊर्जा क्षेत्रमा ३१ करोड ७१ लाख बराबर कर्जा प्रवाह भएको तथ्यांकमा छ।

केन्द्रीय बैंकका अनुसार निक्षेपतर्फ कोशी प्रदेशमा ४ खर्ब ७७ अर्ब रहेको छ। यो राष्ट्रिय कुल निक्षेपको ७.३५ प्रतिशत हो। देशको कुल निक्षेप ६४ खर्ब ८७ अर्ब रुपैयाँ बराबर छ।

त्यसैगरी कोशीमा बैंक तथा वित्तीय संस्थाका शाखा संख्या १ हजार ८ सय ३७ छ। यो १५.९३ प्रतिशत हो। देशभरि बैंक तथा वित्तीय संस्थाका शाखा संख्या ११ हजार ५ सय ३० छन्।

कोशीमा वाणिज्य बैंकको उपस्थिति रहेका स्थानी तह १ सय ३७ छ। देशभरि भने ७ सय ५३ छ। यहाँ ६ सय ८१ थान एटीएम सञ्चालनमा छन्। देशभरि ५ हजार १ सय ९३ एटीएम छन्।

त्यस्तै कोशी प्रदेशमा डेबिट कार्ड चलाउनेहरू १७ लाख ३ हजार ८ सय ४२ छन्। यो कुल हिस्साको १४.१४ प्रतिशत हो। क्रेडिट कार्ड चलाउने ३१ हजार ५ सय ७९ छन्। यो कुल हिस्साको ११.९९ प्रतिशत हो।

यसैगरी मोबाइल बैंकिङ चलाउनेहरू कोशी प्रदेशमा ३४ लाख १४ हजार १ सय ९९ छन्। यो कुल हिस्साको १४.३८ प्रतिशत हो। इन्टरनेट बैंकिङ चलाउने भने २ लाख हाराहारी छन्। कोशीमा ७६ लाख ५९ हजार ३५ निक्षेप खाता सञ्चालनमा छ। यो कुल हिस्साको १३.७० प्रतिशत हो।

केन्द्रीय बैंकका अनुसार असार २०८१ सम्म कोशी प्रदेशमा १९ अर्ब ६९ करोड ३० लाख बराबर सहुलियतपूर्ण कर्जा प्रवाह भएको छ। जसमा व्यावसायिक कृषि तथा पशुपन्छी कर्जामा १२ अर्ब ८८ करोड ७७ लाख सहुलियतपूर्ण कर्जा प्रवाह भएको छ। त्यसपछि महिला उद्यमशील कर्जामा ६ अर्ब ७२ करोड २८ लाख बराबर सहुलियतपूर्ण कर्जा छ।