images

प्रहरीले निर्घात कुटपिट गरिरहेको भिडियोबारे अनुसन्धान सुरु

काठमाडौँ, ७ माघ – रातको समयमा भरतपुरको बाइपास रोड क्षेत्रमा एक व्यक्तिमाथि प्रहरीले निर्घात कुटपिट गरिरहेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले त्यसबारे अनुसन्धान सुरु गरेको छ । भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि त्यसबारे सर्वत्र चासो आइरहेकोमा सत्यतथ्य पत्ता लगाउन अनुसन्धान थालेको चितवनका प्रहरी प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए ।

मिश्रले आफूले पनि सामाजिक सञ्जालमा उक्त भिडियो देखेको र प्रहरीबाट कुटपिट भइरहेको विषयमा अनुसन्धान आवश्यक रहेको पाएपछि अनुसन्धान अघि बढाइएको बताए ।

भिडियोमा एक प्रहरीले साँझको समयमा भरतपुरको बाइपास रोड क्षेत्रमा एक व्यक्तिमाथि निर्घातरुपमा कुटपिट गरेको देखिन्छ । मोटरसाइकलको लाइसेन्स चेक गरिरहेको पनि देखिन्छ । त्यहाँ सडकपेटी छेउमा सेतो सर्टमा रहेका मानिसलाई प्रहरीले बुटले पटकपटक हानेको देखिन्छ ।

‘कसलाई फोन गर्छस् गर’ भन्ने आवज समेत भिडियोमा छ। एसपी मिश्रका अनुसार थाहा पाउनासाथ सम्बन्धित प्रहरी र स्थानका बारेमा पहिचान गरेर घटनाका विषयमा जानकारी लिने काम हुँदैछ । ‘भिडियोको यथार्थ पहिचान गरेर सम्बन्धित प्रहरीमाथि प्रहरी ऐन अनुसार कारबाही हुन्छ,’ उनले भने ।