काठमाडौं, ७ माघ – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङलेआफ्नै गृह जिल्लामा पुगेर घुस खाने र काममा आलटाल गर्ने कर्मचारी बाँकी नरहने बताएका छन् । लमजुङस्थित बुद्धोदय माविको स्वर्ण जयन्तीको अवसरमा सम्बोधन गर्दै उनले घुस खाने र जनताको काममा आलटाल गर्ने कर्मचारी अब बाँकी नरहने र नागरिकको कामलाई आलटाल गर्ने र घुस खाने कर्मचारी कारबाहीमा पर्ने बताएका छन् ।
मन्त्री गुरुङले मुलुकमा अनेकन तन्त्र बदलिए पनि कर्मचारीको काम गर्ने शैली र चिन्तन नबदलिएको गुनासो पोखे । ‘कर्मचारीको कार्यशैली पञ्चायतबाट हालसम्म बदलिएन । पञ्चायतमा पञ्चायतले भनेका मान्ने । बहुदलमा बहुदलले भनेका मान्ने । जनताको कुरा सुन्दै नसुन्ने । अहिले पनि उस्तै रहेको उल्लेख गर्दै व्यवस्था बदलिएको तर कर्मचारीको काम गर्ने तरिका नबदलिएको बताएका हुन । शासन प्रणाली बदलियो, मान्छेको काम बदलिएन । अब घुस खाने र जनताको काममा आलटाल गर्ने कर्मचारी अब बाँकी रहँदैनन् ।
कर्मचारीले १ दिनमा हुने काम १ साता लगाइदिने, १ महिनामा हुने काम १० महिनासम्म लगाइदिने भएकाले अहिलेको प्रणाली अन्त्यको लागि अध्यादेश ल्याएको दाबी गर्दै अध्यादेशले सुशासन कायम हुने दाबी गरे । उनले संविधानले तोकेको बाहेक नागरिकका काम ७ दिनभित्रै सक्नुपर्ने बताए । ‘काम नगरेमा उस्ले प्रतिवेदन बुझाउनु पर्छ । सरकारले कारबाही गर्छ’ उनले भने ।