images

त्रिविमा स्ववियु निर्वाचन चैत ५ गते तय

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी चैत ५ गते गर्ने सहमति भएको छ।

त्रिविका शिक्षाध्यक्ष डा खड्ग केसीको अध्यक्षतामा सोमबार बसेको विद्यार्थी कल्याण परिषद्को बैठकले उक्त निर्णय गरेको परिषद्का सदस्य सचिव पशुपति अधिकारीले जानकारी दिए।

यसअघि त्रिविको शैक्षिक क्यालेन्डरमा स्ववियु निर्वाचन फागुन १५ गते गर्ने तोकिएको थियो । तर, वर्तमान कार्यसमितिको दुई वर्षको कार्यकाल आगामी चैत ५ गते पुग्ने भएकाले अघिल्लो पटककै मितिमा चुनाव गर्ने गरी सिफारिस गरिएको हो।

यसअघि २०७९ चैत ५ गते स्ववियु निर्वाचन भएको थियो। तर, त्यसअघि भने विसं २०६५ चैत ६ गते भएको स्ववियु निर्वाचन एकैपटक २०७३ चैत १५ गते र त्यसपछि २०७९ चैत ५ गते भएको थियो।

स्ववियु निर्वाचन देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुनेछ । निर्वाचनका लागि २८ वर्षे उमेर हद र मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरिएको छ।