images

फेसियल हाउसबाट मनग्गे कमाइ गर्ने भन्दा पनि नेपालकी हरेक छोरीलाई आत्मनिर्भर बनाउने सुष्मा महराकाे उद्देश्य (अन्तर्वार्ता)

काठमाडौं,  ८ माघ – वरिष्ठ सौन्दर्यविद्का रूपमा नेपाली सौन्दर्य व्यवसायमा परिचित नाम हो सुष्मा महरा । विगत २६ वर्षदेखि सौन्दर्यकला क्षेत्रमा लागेर महत्वपूर्ण अनुभव हासिल गरेकी उनले आफ्नो अनुभव र विज्ञतामार्फत समाजमा महिला हकहित तथा रोजगारीको क्षेत्रमा काम गर्दै आएकी छिन् । १७ वर्षअघि युनिसेक्स ब्यूटी पार्लर ‘फेसियल हाउस’ स्थापना गरी देशका विभिन्न सहरहरूमा शाखाहरू खोलेर सेवा दिँदै आएकी उनी नेपाल उद्योग वाणिज्य संघ, काठमाडौंको सचिव समेत हुन् । कर्पोरेट मिडिया हाउसको उपाध्यक्ष तथा नेपाल ब्युटिसियन संघको आजीवन सदस्य रहेकी उनी आफूले स्थापना गरेको व्यवसायमार्फत मनग्गे कमाइ गर्ने भन्दा पनि नेपालकी हरेक छोरीलाई आत्मनिर्भर बनाउने उद्देश्य राखेको बताउँछिन् । फेसियल हाउसले १६ वर्ष पार गरी १७औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा हामीले फेसियल हाउसकी सञ्चालक तथा प्रबन्ध निर्देशक समेत रहेकी उनै वरिष्ठ सौन्दर्यविद् महरासँग छोटो कुराकानी गरेका छौँ । प्रस्तुत छ, उनीसँगको कुराकानी :

 

१६ वर्ष पार गरेको फेसियल हाउसको जन्मचाहिँ कसरी भएको थियो ?

आजभन्दा २६ वर्षपहिला म यो पेसामा रहरले लागेको थिएँ । जब म यसमा संलग्न भएँ, मैले यो पेसाले धेरै दिदीबहिनीहरूलाई रोजगारीको अवसर पनि दिएको देखेँ । त्यसपछि फेसियल हाउसको जन्म भयो ।

फेसियल हाउसमा पाइने सेवाहरूबारे केही जानकारी दिनुहोस् न !

नेपालमा नयाँ सौन्दर्य प्रविधिहरू भित्र्याएर सेवालाई उत्कृष्ट बनाउँदै आएको फेसियल हाउसले हेयर, व्युटी र स्किन केयरसँगै कृत्रिम परेला प्रत्यारोपण, डेडलक जस्ता नयाँ पुस्तामा प्रचलित थुप्रै गुणस्तरीय सेवाहरू दिँदै आएको छ । यसैगरी, फेसियल हाउसले हङकङको प्रडक्टबाट फेसियल सेवा प्रदान गर्दै आइरहेको छ । फेसनेबल कलरहरू प्रयोग गर्ने फेसियल हाउसले चायाँपोतोको उपचार पनि सरल विधिबाट गर्दै आइरहेको छ । यसैगरी, नेपालीहरूको छाला र कपाललाई दृष्टिगत गर्दै चीन, कोरिया, मलेसिया, थाइल्यान्ड र कोरियाको कम्पनीहरूसँग सहकार्य गरेर हर्वल ब्युटी, हेयर कस्मेटिक होलसेल तथा रिटेल सेवा पनि फेसियल हाउसले दिँदै आएको छ । केही समयभित्र नेपालमा नै हर्वल कस्मेटिक उत्पादन गर्ने लक्ष्य फेसियल हाउसको छ ।

फेसियल हाउसले नेपालको नम्बर वान ब्युटी सैलुनलगायत विभिन्न सम्मान तथा अवार्डहरू समेत पाइसकेको छ । पछिल्लो समय नाम कपी गर्ने क्रम बढेकाले फेसियल हाउसको ब्राण्डप्रति नझुक्किन सम्पूर्ण सेवाग्राहीमा हामी सचेत गराउन चाहान्छौँ । सौन्दर्यसम्बन्धी सेवामा मात्र सीमित नभई फेसियल हाउसले फेसियल हाउस अफ कस्मेटिक, फेसियल हाउस ब्युटी एकेडेमी र फेसियल हाउस इन्टरटेन्मेन्टबाट पनि आफूलाई विस्तारित र बहुआयामिक बनाउँदै लगेको छ ।

 

तपाइँले यो व्यवसायमा निकै सङ्घर्ष गरेको देखिन्छ नि ?

नेपालमा हरेक व्यवसाय गर्न समस्या र विभिन्न अप्ठ्याराहरू भएका कारण सङ्घर्ष गर्नुपरेको हो । त्यसमाथि आम नागरिक र राज्यले समेत यो पेसालाई सकारात्मक कोणबाट हेरेको देखिँदैन । यो पेसालाई हेर्ने नकारात्मक दृष्टिकोण बदल्नका लागि म अथक सङ्घर्षमा छु र त्यो जरुरी पनि छ । समाजले मात्र होइन यो पेसालाई हेर्ने नकारात्मक दृष्टिकोणलाई परिवर्तन गर्न राज्यले पनि यसलाई सही दृष्टिकोणले हेर्नुपर्ने आवश्यकता छ । हामीले बारम्बार राज्यको ध्यानाकर्षण गराउँदै आएका छौँ ।

तपाइँ त बेलाबखत विवाद र मुद्दामामिलाको झमेलामा पनि पर्नुभएको देखिन्छ नि किन हो ?

तपाइँले भन्नुभएको जस्तो मुद्दामामिलाको झमेलामा म परेको छैन । तर, केही समयअघि हामीकहाँ सेवा लिन आउनुभएकी एक जना सरकारी कर्मचारीले योजनाबद्ध ढङ्गले हामीमाथि प्रहार गर्ने दुष्प्रयास गर्नुभएको थियो । त्यो विषय सल्टिसकेको छ । अदालतले हाम्रो पक्षमा फैसला समेत गरिसकेको छ ।

खासमा घटनाचाहिँ के भएको थियो ?

२०८० को असार २७ गते दिउँसो कार्यालय समयमा फेसियल हाउसको आउटलेट चाबाहिलस्थित केएल टावरमा सेवा लिन आउनुभएकी अध्यागमन विभागकी शाखा अधिकृत बन्दना कर्णले सेवा लिएपछि सेवाशुल्क तिर्नेबेला लफडा निकाल्नुभयो । फेसियल हाउस नै बन्द गराउँछु भनेर उहाँले तत्काल प्रहरीलाई बोलाउनुभयो । प्रहरीले दुबै पक्षलाई प्रहरी कार्यालय गौशालामा लगी मिलापत्र गरेर पठाइदियो । तर, उहाँ त्यत्तिकैमा रोकिनुभएन । आफ्नो पदको दुरूपयोग गरी महरा (मलाइ) लाई जसरी पनि पक्राउ गर्नुपर्ने दबाब सृजना गर्दै मिलापत्र भइसकेको विषयमा पुनः प्रहरी कार्यालयमा अर्को उजुरी दर्ता गराइ पक्राउ पुर्जी जारी गराउनुभयो ।

उहाँको यो रवैयापछि मैले न्यायका लागि उच्च अदालत पाटनमा निवेदन दर्ता गराएँ । निवेदनउपर उच्च अदालतले उहाँको आरोप पुष्टि गर्ने प्रमाण नपुग्ने भन्दै फेसियल हाउसको पक्षमा फैसला दियो । त्यसपछि पनि अदालती फैसलाको अवज्ञा हुनेगरी उहाँले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मुद्दा चलाइ पक्राउ गराउन खोज्नुभयो । पछि सबै घटनाक्रम हेर्दा उहाँले पसलमा सुरक्षाका लागि राखिएको सिसी टीभीलाई विषय बनाएर मलाई थुन्नेदेखि बदनाम गर्ने यो जना बनाउनुभएको रहेछ । मलाई मात्र होइन यति उच्च ओहोदामा रहनुभएकी महिला अधिकृतले महिला उद्योगीहरूलाई प्रोत्साहान गर्नुपर्नेमा उहाँले ब्युटिसियन भनेको बेस्याहरू हुन् भन्ने शब्दले राज्यको नीतिगत तहका मान्छेहरूको सोचलाई उजागर गर्छ । अदालतले मलाई न्याय दियो । नेपालमा न्याय छ भन्ने पनि प्रमाणित भएको छ । तर, मेरो लडाईं यही र यस्तै सोचविरुद्ध हो । मरो लडाईं महिलाहरूलाई राज्यले गर्ने असमानताका लागि हो । यसमा हामी सम्पूर्ण ब्युटीसियन दिदीबहिनीहरू एकजुट छौँ ।

व्यवसायबाट मनग्गे कमाउनुभयो भनेर दुश्मनी लागेको हो कि ?

मैले मेरो व्यवसायबाट मनग्गे कमाउनेभन्दा पनि नेपालका हरेक छोरीलाई आत्मनिर्भर बनाउने उद्देश्य राखेकी छु । चाहे देशमा होस् वा विदेशमा, उनीहरूले आफ्नो खुट्टामा उभिएर आत्मविश्वासका साथ आफ्नो पहिचान बनाउन सकुन् भन्ने मेरो लक्ष्य हो । म चाहान्छु, महिलाहरूलाई यो पेसामा मात्र सीमित नगरियोस्, तर उनीहरूको क्षमताको उचित कदर होस् । समाजले उनीहरूको योगदानलाई सम्मानले हेर्ने दृष्टिकोण विकास गरोस् । महिलाहरूले चाहे जुनसुकै क्षेत्रमा काम गरे पनि त्यसलाई आत्मनिर्भरता र सशक्तीकरणको माध्यम राज्यले बनाउनु पर्छ ।

तपाइँले सञ्चालन गरेको फेसियल हाउस १६ वर्ष पार गरेर १७ वर्ष लागेको छ । यसबारे केही भन्न चाहनुहुन्छ कि ?

मेरो जीवनको प्रयास र २६ वर्षदेखिको मेहनत र १६ वर्षदेखिको प्रयासले आज यो अवस्थामा पुगेको छ । मेरो प्रयासले नेपालमा महिला सशक्तीकरणको उदाहरण स्थापित गर्न सकोस् । यस उद्देश्यका लागि मेरो सपना केवल आर्थिक समृद्धि होइन, सामाजिक परिवर्तनको सुरूवात पनि हो । महिलाहरूले आफ्नो सीप र लगनशीलताबाट समाजमा एक फरक प्रभाव पारेको दिन, मेरो संघर्ष सफल हुनेछ । हामीले १७औँ वार्षिकोत्सव मनाइरहँदा अझ बढी जिम्मेवारी र कर्तव्य बोधका साथ अघि बढिरहेका छौँ । विदेशिनु नपरोस् देशमै केही गरौँ भन्ने अभिप्रायले हामीले आफूलाई अघि बढाइरहेका छौँ । आफ्नो कामलाई माया गरौँ, कला संस्कृतिलाई माया गरौँ । सत्यको पछि अडिग भएर लागौँ । कसैमाथि मिथ्या आरोप लगाउनुभन्दा अगाडि दशपल्ट सोचौँ भन्न चाहन्छु । कसैलाई अनाहकमा आरोप नलगाऔँ । देशलाई छातीमा राखेर अघि बढौँ भन्न चाहन्छु ।