काठमाडौँ, १० माघ – सरकारले वैदेशिक रोजगारसम्बन्धी कानुन परिमार्जन गर्ने भएको छ।
बिहीबार प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारसम्बन्धी कानुन परिमार्जन गर्न लागिएको बताएका हुन्।
वैदेशिक रोजगारीको व्यवस्थापनको लागि सरकार लागिपरेको उनको भनाइ थियो। उनले वैदेशिक रोजगारमा जाने श्रमिकहरु ठगिने क्रम बढिरहेको उल्लेख गर्दै यसको न्यूनीकरणका लागि सरकार लागिपरेको उल्लेख गरे।
उनले वैदेशिक रोजगारसम्बन्धीका मुद्दाहरु जिल्ला तहको अदालत र स्थानीय प्रशासनले हेर्ने गरी कानुन परिमार्जन गर्नुपर्ने बताए।
वैदेशिक रोजगारसम्बन्धी मुद्दा जिल्ला तहले हेर्ने व्यवस्था गर्न सकिए मात्रै वैदेशिक रोजगारको क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्न सकिने उनको भनाइ थियो।
उनले भने, ‘हामीले वैदेशिक रोजगारसम्बन्धी कानुन परिमार्जन गर्न खोजिरहेका छौँ। वैदेशिक रोजगारमा जाने श्रमिकले ठगिएको अवस्थामा जिल्ला अदालतमा जाने स्थिति भयो भने केही सुधार हुन्छ।’
उनले सरकारले वैदेशिक रोजगारमा जाने श्रमिकलाई बिना धितो ऋण उपलब्ध गराउने नीति लिएको पनि बताए।