images

महाराष्ट्र रेल दुर्घटना – मृतक १३ मध्ये ७ नेपाली, शव ल्याउन र क्षतिपूर्तिबारे दूतावासले थाल्यो पहल

काठमाडौं, ११ माघ – भारत महाराष्ट्रको जलगाउँ पाचोरामा भएको रेल दुर्घटनामा ज्यान गुमाउने १३ मध्ये ७ जना नेपाली रहेका छन्।

तीमध्ये ४ जना अछामका र एक जना कैलालीका छन् भने दुई जनाको ठेगाना नखुलेको दिल्लीस्थित नेपाली दूतावासमा कन्सुलर रहेका नेपाल प्रहरीका एसएसपी सञ्जीव शर्माले बताए।

मृत्यु हुनेमध्ये अछामका पञ्चदेवल विनायक नगपालिका–४ का नन्दाराम विक, उनकी श्रीमती मैसरा र छोरा हिमु तथा कलबजार नगरपालिका–४ चाल्साकी ६० वर्षीया जयकला कामी छन्।

यस्तै कैलालीको मोहन्याल गाउँपालिका–६ सोल्टाकी ४३ वर्षीया कमला भण्डारी छिन्। यस्तै, डुडुवा, बाँकेका राधेश्याम राध र नारायणपुर मात्र ठेगाना खुलेका लच्छिराम पासी छन्।

घाइते हुनेमा अछाम मंगलसेनका ह्युजला सावन्त र धर्मबहादुर सावन्त तथा दैलेखका दीपक थापा र मञ्जु परियारको उपचार भइरहेको छ।

महाराष्ट्र राज्यस्थित जलगाउँमा बुधबार साँझ लखनउबाट मुम्बई जाँदै गरेको पुष्पक एक्सप्रेसमा आगो लागेको खबर फैलिएपछि यात्रु रेलबाट हाम फालेका थिए ।

मृतकको शव नेपाल पठाउन र  उनीहरुले पाउने क्षतिपूर्तिको बारेमा नेपाली दूतावासले पहल गरिरहेको कन्सुलर शर्माले बताए।