images

‘ड्रामा’ गरेर धरानमा खानेपानी समस्या समाधान हुँदैन : मन्त्री यादव

काठमाडौं, ११ माघ – खानेपानीमन्त्री प्रदीप यादवले ‘ड्रामा’ गरेर धरानमा खानेपानी समस्या समाधान नहुने बताएका छन् ।

मन्त्रिपरिषद्‌बाट स्वीकृत खानेपानी तथा सरसफाइ नियमावली, २०८१ का बारेमा जानकारी गराउन शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङले खानेपानीका विषयमा ड्रामा गरेको टिप्पणी गरे । ड्रामाभन्दा काम गर्न उनले सुझाव दिए ।

धरानका जनतालाई आफैँ पानी खुवाउँछु भन्दै मेयर सम्पाङले बहादुरी देखाएर खानेपानी संस्थानलाई ध्वस्त पार्ने काम गरेको उनले आरोप लगाए ।

मन्त्री यादवले धरानका जनतालाई पानी दिने दायित्व सरकारको भएको स्पष्ट पारे । सहज रूपमा पानी उपलब्ध गराउन संघ सरकारले काम अघि बढाउने उनले उल्लेख गरे ।

खानेपानीसम्बन्धी नियमावली राजपत्रमा प्रकाशित भइसकेको उनले जानकारी दिए । अब खानेपानी तथा सरसफाइ आयोजना कार्यान्वयनमा सहज हुने उनले बताए ।

उनले साना, घरेलु उपयोगबाहेकका आयोजनाको सर्वेक्षण, निर्माण तथा सञ्चालनका निम्ति अनुमति लिनुपर्ने नयाँ व्यवस्था गरिएको जानकारी दिए ।

खानेपानी तथा सरसफाइ सेवा महसुल निर्धारण आयोगको काम र जिम्मेवारीलाई नियमावलीमा थप प्रस्ट पारिएको मन्त्री यादवले बताए ।

दुई हजारभन्दा बढी धारा भएका खानेपानी सेवाप्रदायकले कुल महसुलको १ प्रतिशत रकम नेपाल सरकारको राजस्व खातामा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको उनले जानकारी दिए ।

यस्तै, औद्योगिक तथा व्यापारिक क्षेत्रबाट उत्सर्जित फोहोर पानी सरकारले तोकेको मापदण्ड पालना हुने गरी प्रशोधन गरेर मात्र ढल निकास प्रणालीमा जोड्नुपर्ने व्यवस्था नियमावली रहेको मन्त्रालयले जनाएको छ ।