काठमाडौं, १३ माघ – सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज आइतबार पनि अदालत उपस्थित हुँदैछन् । बुटवलको सुप्रिम सहकारीको रकम ठगीबारे शुक्रबार थुनछेक बहस नसकिएपछि पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई परिवारको जिम्मा लगाइएको थियो । रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बुधबार रविको बयान भइ बिहीबारदेखि थुनछेक बहस शुरू भएको थियो ।
शुक्रबार पनि थुनछेक बहस नसकिएकाले आइतबार पुनः अदालतमा उपस्थित गराउने गरी वकिल र पत्नी निकिताको रोहबरमा रविलाई जिम्मा लगाइएको थियो । आइतबार पनि बहस निरन्तर हुने भएकाले लामिछाने अदालत उपस्थित हुने भएका छन् । आइतबार थुनछेक बहस सक्ने तयारी छ ।
शुक्रबार जाहेरीकर्ताको तर्फबाट डा. सुरेन्द्र भण्डारी, आरसी गौतम लगायतले बहस गरेका थिए । प्रतिवादी लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तले बहस गरेका छन् ।
बहसपछि अदालतले रविलाई साधारण तारेखमा छाड्ने, धरौटी तारेखमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउनेमध्ये एउटा आदेश दिनेछ ।