images

अमेरिकाले वैदेशिक अनुदान रोक्दा नेपालमा कस्तो प्रभाव पर्छ ?

काठमाडौं, १३ माघ – अमेरिकाले सबै प्रकारका वैदेशिक अनुदान सहयोग स्थगित गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘अमेरिका फर्स्ट’ नीति अन्तर्गत विदेश नीतिको समीक्षा भइरहेकाले तत्काल ९० दिनसम्मका लागि वैदेशिक सहायता स्थगित गरिएको हो ।

९० दिनको समीक्षापछि सहायता जारी राख्ने वा बन्द नै गर्ने भन्नेबारे निर्णय हुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । २० जनवरीमा शपथ ग्रहण गरेपछि वैदेशिक सहायता पुनर्मूल्यांकन सम्बन्धी कार्यकारी आदेश जारी गरेका ट्रम्पले वैदेशिक विकास अनुदान स्थगित गर्न मातहतका निकायकालाई निर्देशन दिएका हुन् ।

यसबाट विश्वभर अमेरिकाको सहयोगमा सञ्चालित स्वास्थ्य, शिक्षा र विकाससँग सम्बन्धित कयौं प्रोजेक्टहरु बन्द हुनसक्ने छ । यी क्षेत्रमा अमेरिकाले विश्वभर सबैभन्दा धेरै खर्च गर्दै आएको छ ।

यसबाट युक्रेन पनि प्रभावित हुने अनुमान छ । रुससँग लडिरहेको युक्रेनलाई अमेरिकाका अघिल्ला राष्ट्रपति जो बाइडेनले अरबौं डलर सहयोग गरेका थिए । अमेरिकाले सन् २०२३ मा युक्रेनलाई १७।२ बिलियन डलरभन्दा बढी सहयोग गरेको थियो ।

अमेरिकाले इजरायल–इजिप्टको सैन्य सहायता र खाद्य कार्यक्रमका लागि गर्दै आएको सहयोग भने नरोकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

समाचार एजेन्सी एएफपीका अनुसार अमेरिकाले स्वास्थ्य क्षेत्रमा गरिब देशहरुलाई दिँदै आएको सहयोग पनि बन्द गरेको छ । यो कदमबाट खोप लगायतका अभियान रोकिने सम्भावना छ । यस सम्बन्धमा अमेरिकी विदेश मन्त्रालयले दूतावासहरुलाई पत्र पठाइसकेको समाचारमा उल्लेख छ ।

नेपालमा के असर हुन्छ ?

सरकारी तथ्यांकअनुसार अमेरिकाले विश्वमै सबैभन्दा धेरै वैदेशिक विकास सहायता उपलब्ध गराउँछ । उसले सन् २०२३ मा ६८ अर्ब अमेरिकी डलर बराबरको अन्तर्राष्ट्रिय सहायता वितरण गरेको थियो ।

अमेरिकाले सहयोग रोक्दा नेपाल पनि प्रभावित हुने अनुमान छ । अमेरिकाले नेपाललाई कृषि, सुशासन, विपद्, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य र सरसफाइका क्षेत्रमा सहयोग गर्दै आएको छ । ती क्षेत्रमा अधिकांश अमेरिकी अनुदान यूएसएआईडीमार्फत् काम हुँदै आएको छ ।

अमेरिकी अनुदान सहयोग परियोजना एमसीसीमार्फत् पनि नेपालमा सडक र विद्युत् पूर्वाधारको क्षेत्रमा काम सुरु भएका छन् । ती पनि प्रभावित हुन सक्ने अनुमान छ ।