काठमाडौँ, १३ माघ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक सोमबारका लागि बोलाइएको छ । पार्टी कार्यालय वनस्थलीमा सोमबार बिहान ११ः३० बजे बस्नेगरी सचिवालय बैठक बोलाएको कार्यवहाक प्रवक्ता प्रतिभा रावलले जानकारी दिएकी छन् ।
प्रवक्ता रावलका अनुसार सचिवालय बैठकमा विविध सात वटा विषय छलफल हुनेछ । समसामयिक राजनीति र पार्टी गतिविधि, सातै प्रदेशमा विशेष भेटघाट कार्यक्रम (पदाधिकारीको नेतृत्वमा), स्वतन्त्र जनप्रतिनिधिहरूको रास्वपा आबद्धता हुने सम्बन्धमा, संसद् अधिवेशन, सल्लाहकार परिषद् र केन्द्रीय सङ्गठन विभागमा मनोनयन लगायतका विषय छलफलका विषय तय भएका उनले जानकारी दिइन् ।
साथै पार्टीका विभिन्न नियमावलीहरू विभाग सञ्चालन नियमावली २०८१ (संशोधन प्रस्ताव) र नयाँ नियमावलीहरू प्रस्ताव (सङ्गठन विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, प्रवास नेपाली सम्पर्क विभागको नियमावली २०८१, र्याट विभाग नियमावली २०८१) का बारेमा पनि छलफल हुने उनले बताइन् । यस्तै संसदको आगामि हिउँदे अधिवेशन तथा अन्य समसामयिक बिषयमा पनि छलफल हुने बताइएको छ ।