images

अमेरिकाको विदेशी सहायता रोक्ने निर्णय: नेपालमा कस्तो असर पर्छ?

काठमाडौं–अमेरिकी विदेश बिभागले हाल सञ्चालनमा रहेका प्रायः सबै विदेशी सहायता कार्यक्रमहरू रोक्न र नयाँ सहायता अस्थायी रूपमा स्थगित गर्न निर्देशन दिएको छ।

बीबीसीले सार्वजनिक गरेको आन्तरिक पत्रअनुसार, राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार जारी गरेको कार्यकारी आदेशपछि ९० दिनसम्म विदेशी विकास सहायता स्थगित गर्ने निर्णय गरिएको हो। यस अवधिमा सहायता कार्यक्रमहरूको पुनरावलोकन गरिनेछ।

अमेरिका विश्वको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सहायता प्रदायक हो, जसले सन् २०२३ मा मात्रै ६८ अर्ब डलर खर्च गरेको थियो। तर, नयाँ निर्णयले विकास सहायता, सैन्य सहायता लगायतका क्षेत्रमा असर पार्ने देखिन्छ।
तर, यस नीतिले आपत्कालीन खाद्य सहायता तथा इजरायल र इजिप्टका लागि सैन्य सहयोगलाई भने जारी राख्ने बताइएको छ।

अमेरिकी अधिकारीहरूलाई पठाइएको पत्रमा भनिएको छ, ‘कुनै नयाँ अनुदान वा सहायता सम्झौता तत्काल अनुमोदन नभएसम्म कुनै नयाँ रकम खर्च गर्न पाइने छैन।’

यसैगरी, सबै विदेशी सहायता कार्यक्रमहरूको ८५ दिनभित्र समीक्षा गरिनेछ, जसले राष्ट्रपति ट्रम्पको विदेश नीतिसँग मेल खाने कार्यक्रमहरू मात्रै अघि बढ्ने सुनिश्चित गर्नेछ।

अमेरिकी राज्य सचिव मार्को रुबियोले यसअघि अमेरिकी सहायता कार्यक्रमहरू अमेरिका ‘मजबुत’, ‘सुरक्षित’ वा ‘समृद्ध’ बनाउने लक्ष्यअनुसार सञ्चालन हुनुपर्ने बताएका थिए।

यस निर्णयका कारण विश्वभर सञ्चालित अमेरिकी सहायता कार्यक्रमहरू प्रभावित हुन सक्ने बताइएको छ। बीबीसीसँग कुरा गर्दै पूर्व अमेरिकी राज्य बिभाग अधिकारी जोश पउलले भने, ‘मानवीय सहयोग अन्तर्गतका कार्यक्रमहरू अचानक रोक्नुपर्ने स्थिति आउन सक्छ।’

पूर्व अमेरिकी अन्तर्राष्ट्रिय विकास संस्था (युएसआइडी) निर्देशक डेभ हार्डेनका अनुसार, यो निर्णयले पानी, सरसफाइ, आवासजस्ता विकास परियोजनाहरूमा गम्भीर असर पार्न सक्छ।

‘म मध्यपूर्वमा अमेरिकी सहायता कार्यक्रम सञ्चालन गर्दा विभिन्न समयमा सहायता रोकिएको अनुभव गरेको छु। तर, ती निर्णयहरू विशेष क्षेत्रका लागि मात्रै थिए। यो भने विश्वभर लागू हुने निर्णय हो,’ हार्डेनले भने।

नयाँ नीति लागू भएपछि युक्रेनमा पठाइने सहायता पनि प्रभावित हुन सक्ने बताइएको छ। ट्रम्पका पूर्ववर्ती राष्ट्रपति जो बाइडेनले युक्रेनलाई अर्बौं डलरको सैन्य सहायता प्रदान गरेका थिए।

यसैबीच, गाजा क्षेत्रमा युद्धविरामपछि अमेरिकी मानवीय सहायता पठाइरहेको अवस्थामा सहायता रोक्ने निर्णय आएको छ। साथै, सुडान लगायतका भोकमरीग्रस्त क्षेत्रहरूमा पनि यसको असर पर्न सक्ने अनुमान गरिएको छ।

नेपालमा के असर पर्न सक्छ?
नेपालमा अमेरिकी सहायता रोकिएको पुष्टि भएको छैन, तर केही परियोजनाहरू अन्योलमा परेका छन् भन्ने हल्ला चलिरहेको छ। नेपालमा अमेरिकी सहायता विशेषगरी स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास, जलवायु परिवर्तन र लोकतान्त्रिक प्रणाली सुदृढीकरण जस्ता क्षेत्रमा केन्द्रित रहेको छ।

नेपालका केही गैरसरकारी संस्थाहरूले हाल सञ्चालनमा रहेका परियोजनाहरू तत्काल रोक्नुपर्ने अवस्था आउन सक्ने चिन्ता व्यक्त गरेका छन्।

स्वास्थ्य क्षेत्रमा सञ्चालित केही सहायता कार्यक्रमहरू अन्योलमा छन् भने कतिपय संस्थाहरूले आफ्ना कर्मचारीलाई अनिश्चित समयसम्मका लागि ‘वेट एन्ड वाच’ अवस्थामा राख्नुपर्ने भएको छ।