काठमाडौं- सहकारी ठगीको आरोपमा जिल्ला अदालत, रुपन्देहीले पनि रवि लामिछानेलाई एक कराेड धरौटीमा छाड्न आदेश दिएको छ ।
न्यायाधीश प्रल्हाद कुमार योगीको इजलाशले उनलाई एक करोड धरौटीमा छाड्न आदेश गरेको हो । जिल्ला अदालत रुपन्देहीका तहसिलदार कुमार खतिवडाका अनुसार अदालतले लामिछानेलाई एक करोड धरौटीमा रिहा गर्न आदेश गरेको हो । कार्यविधि संहिता बमोजिम एक करोड धरौटी बैंक ग्यारेन्टीमा तारेखमा राख्नू भन्ने आदेश भएको अदालतले जनाएको छ ।
सुप्रिम सहकारीको रकम संगठित ठगीमा रविसहित २२ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा पूरक अभियोगपत्र दर्ता गरिएको थियो ।पूरक अभियोगमा ५५ करोड ५९ लाख ८३ हजार ८ सय ४२ रूपैयाँ बिगो मागदाबी गरिएको छ ।
उनलाई यसअघि जिल्ला अदालत कास्कीले ६५ लाख र जिल्ला अदालत काठमाडौँले ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो।