काठमाडौँ, १५ माघ – गृहमन्त्री रमेश लेखकले पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोध गर्दै भइरहेको आन्दोलनको विषयमा सम्बन्धित ४ जिल्लाका सांसदहरुसँग छलफल गरेका छन्।
मंगलबार साँझ गृहमन्त्री लेखकले ताप्लेजुङ, पाँचथर, तेह्रथुम र इलामका जनप्रतिनिधिहसँग छलफल गरेक हुन्। शनिबार केबलकार निर्माणको विरोधमा उत्रिएका पहिचान पक्षधरहरूको समूह र सुरक्षाकर्मीबीच झडप भएको थियो। सोक्रममा केही प्रदर्शनकारीलाई गोली लागेको थियो।
थप तनावको अवस्था सिर्जना हुन नदिन गृहमन्त्रीले जिल्लाका सांसदहरुसँग छलफल सुरु गरेका हुन्।
छलफलबारे सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले सचिव योगेश भट्टराईले ताप्लेजुङको पाथीभरा मन्दिरमा सबैलाई सहज होस् भनेर केबलकार निर्माण गर्ने योजना अघि बढेको भए पनि केही व्यक्ति र समूहले धर्म संस्कृति मासिने भन्दै केही वर्षदेखि नै विरोध भइरहेको बताए।
केबलकार बनाउने क्रमसँगै माघ १२ गते दोहोरो हातपात हुँदा सुरक्षाकर्मीहरुले बल प्रयोग गरेको र त्यसले केही घाइते भएको उनले बताए। परिस्थितिलाई सामान्यीकरण गर्ने, भड्किन नदिने र वार्ताबाट समाधान खोज्नेबारेमा छलफल भएको बताए।
उनले विकास निर्माणको कामलाई पनि अघि बढाएर भएका समस्यालाई समाधान गर्ने बताए। विरोधीहरुसँग पनि संवाद गर्ने निस्कर्ष निस्किएको उनले बताए।
घाइते भएकाहरुको सरकारले स्वास्थ्योपचार गर्ने मागमा गृहमन्त्री रमेश लेखकले सरकारले स्वास्थ्योपचार गर्ने प्रतिबद्धता जनाएको उनले जानकारी दिए। उनले सम्बन्धित मन्त्रालयसँग पनि छलफल गरेर अघि बढ्ने सहमति भएको उल्लेख गरे।