काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिसहित समाजका हरेक क्षेत्रमा सुधारको आवश्यकतामा जोड दिँदै स्टन्टबाजीबाट देश नचल्ने बताएका छन् ।
नेपाल बार एसोसिएसन र युवा कानुन व्यावसायी सरोकार समाजद्वारा आयोजित पहिलो युवा कानुन व्यावसायी सम्मेलन, २०२५ को उद्घाटन सत्रलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यथार्थमा जनताप्रति इमानदारिता र बफादारिताका साथ सबैले आफ्नो कर्तव्य पूरा गरेर देशलाई भद्रगोल र विपन्नबाट मुक्त बनाउनुपर्ने बताएका हुन्।
उनले राजनीतिक दलहरुको नेतृत्व र जनताको सहभागितामा लोकतन्त्र ल्याइएकाले अब शान्तिसुरक्षा, सुशासन र समृद्धि कायम गर्न सबै कटिबद्ध हुनुपर्नेमा जोड दिए। प्रधानमन्त्री ओलीले सांसदहरुले कानुन बनाउँदा सार्वभौमसत्तासम्पन्न जनताका तर्फबाट कानुन बनाउँदै छु भन्ने कुरा हेक्का राखेर काम गर्नुपर्ने र सरकारले म नै सब कुछ हुँ भन्ने भ्रम पाल्न नहुने स्पष्ट गरे।
प्रधानमन्त्री ओलीले सम्मेलनबाट प्राप्त निष्कर्षसहितको रायसुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै युवा कानुन व्यवसायीले कम पारिश्रमिक पाउने अवस्था अन्त्य हुनुपर्ने बताए । उनले विद्यमान सरकार कानुन व्यवसाय र युवाहरुको साथमा रहेको स्पष्ट गर्दै यस क्षेत्रको भलाइ र उन्नतिका पक्षमा कानुन निर्माणलगायतका काममा उचित ध्यान दिने विश्वास दिलाए ।
अन्तर्राष्ट्रिय क्षेत्रका प्रतिनिधिबाट पनि सम्बोधन गरिएको कार्यक्रममा युवा कानुन व्यवसायी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरिएको थियो ।