काठमाडौं- व्यापार र वाणिज्य प्रवद्धन गर्ने उद्देश्यसहित नेपाल-स्टोनिया चेम्बर अफ कमर्स स्थापना हुने भएको छ । नेपालका लागि स्टोनियाका अवैतनिक बाणिज्य दूत नवराज दाहाल र ‘इष्टोनिया चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री’ का अधिकारीहरुबीच त्यहाँको राजधानी तालिनमा भएको छलफलमा उक्त सहमति भएको हो ।
पर्यटक मेलामा सहभागी हुन स्टोनिया पुगेका दाहालले कमर्सकी निर्यात सेवासम्बन्धी विभागकी संयोजक लिइसी किर्सेनलगायतसँग भेटेका थिए ।
भेटमा दुई देशबीच व्यापारिक सहकार्य विस्तारका लागि नेपाल-स्टोनिया चेम्बर स्थापना गर्ने सैद्धान्तिक सहमति भएको दाहालले जानकारी दिए ।
दिल्लीस्थित नेपालका लागि स्टोनियन राजदूत मारिया लुपसँग पनि त्यसबारे कुराकानी भएको र आफू नेपाल फर्किएलगत्तै कमर्सको औपचारिक स्थापना गरिने उनले बताए । ‘कमर्स गठनका लागि अनुमति लिइसकेको छु । नेपालका लागि इस्टेनियन राजदूतले पनि ओके गर्नुभएको छ’, दाहालले भने,’म नेपाल फर्किए लगत्तै नेपाल-स्टोनिया कमर्सको विधिवत गठन हुन्छ ।’
ट्रेकिङ व्यवसायीहरुको छाता संस्था ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल(टान) का पूर्वअध्यक्षसमेत रहेका दाहाले छलफलका क्रममा आफूले नेपाल सरकार र निजी क्षेत्रसँगको साझेदारीमा पर्यटन, उद्योग, व्यापार र सूचना प्रविधि क्षेत्र (आईसीटी) मा लगानी गर्न आग्रह गरेको बताए ।
दाहालका अनुसार जवाफमा स्टोनिया चेम्बरका अधिकारीहरुले नेपालको भ्रमण गरी त्यसको सम्भावनाबारे अध्ययन गर्ने बताएका छन् ।
आइसीटी र साइबर सुरक्षाको क्षेत्रमा अब्बल मानिसएको स्टोनियाले नेपालसँग ‘इ-कमर्स’ को विषयमा सहकार्य गर्न चाहेको दाहालले बताए । नेपालका लागि निवर्तमान स्टोनियन राजदूत केटरिन किभीले नेपाली उच्च अधिकारीहरुसँगको भेटमा यसअघि नै त्यसबारे प्रस्ताव राखेको भए पनि नेपालको तर्फबाट तत्परता आवश्यक नदेखाइएका कारण काम अगाडि बढ्न नसकेको दाहालको भनाइ छ ।
नेपाल र उत्तरपश्चिमी युरोपेली मुलुक स्टोनियाबीच सन् १९९२ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । नेपाल हेर्ने स्टोनियाको राजदूतावास भारतको राजधानी नयाँदिल्लीमा छ ।