भारतीय बजेट : नेपाललाई सवा ११ अर्ब, कुन देशले कति पाउने भए ?

काठमाडौं, २० माघ – शनिबार भारत सरकारले संसदमा बजेट प्रस्तुत गरेको छ । सो बजेट प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको पहिलो बजेट हो ।

भारतकी केन्द्रीय वित्तमन्त्री निर्मला सीतारमणले लगातार आठौँपटक बजेट सार्वजनिक गरेकी हुन् । त्यहाँको अर्थ मन्त्रालयको प्रक्षेपणअनुसार आगामी वर्ष भारतको अर्थतन्त्र ६ दशमलव ८ प्रतिशतसम्म वृद्धि हुनेछ ।

भारत सरकारले जारी गरेको आगामी बजेटमा नेपालका लागि ७ सय करोड भारतीय रुपैयाँ अर्थात् ११ अर्ब २० करोड रुपैयाँभन्दा बढी अनुदान छुट्याएको छ । 

गत वर्ष पनि भारत सरकारले नेपाललाई सात अर्ब भारु अनुदान दिएको थियो । छिमेकी राष्ट्रहरूमध्ये भारतबाट धेरै अनुदान पाउने देशको सूचीमा नेपाल दोस्रो हो ।

सबैभन्दा बढी सहायता पाउने भारतको छिमेकी मुलुकमा भुटान पहिलो नम्बरमा छ । भारतले भुटानलाई यो वर्ष १७ सय ७५ करोड अनुदान र ३७५ करोड ऋण उपलब्ध गराउने भएको छ ।

श्रीलंका र माल्दिभ्सले बराबर अनुदान पाउने भएका छन् ।  ती दुवै देशले समान ६०० करोड अनुदान पाउने भएका हुन् । भारतको अर्को छिमेकी बंगलालादेशले भने १२० करोड मात्रै पाउने भएको छ ।

त्यस्तै, म्यानमारले ८५ करोड ६६ लाख पाउने भएको छ भने अफगानिस्तानले भने जम्मा २० करोड मात्र पाउने भारतीय सञ्चरमाध्यमले उल्लेख गरेका छन् ।