सहकारीको डेढ अर्ब रुपैयाँ हिनामिना गरेको आरोप लागेका जिसस म्याग्दीका प्रमुख थापा पक्राउ

काठमाडौं, २० माघ – म्याग्दीको बेनीस्थित कुमारी सहकारी संस्थाको डेढ अर्ब रुपैयाँ हिनामिना गरेको आरोपमा प्रहरीले जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापालाई पक्राउ गरेको छ । उनलाई आज बिहान साढे ५ बजे प्रहरीले उनकै निवासबाट पक्राउ गरेको हो ।

म्याग्दीका प्रहरी प्रमुख भरत श्रेष्ठले थापालाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको बताए ।  सहकारी रजिस्ट्रारको कार्यालय पोखराले एक वर्षअघि गरेको छानबिन प्रतिवेदनमा थापाको योजनामा सर्वसाधारणले बचत गरेको डेढ अर्ब रुपैयाँ हिनामिना भएको उल्लेख थियो । थापासहितको टोलीले सहकारीको रकम निजी विद्यालय, घर जग्गा खरिद कार्यमा लगाएर दुरुपयोग गरेको पाइएको उक्त प्रतिवेदनमा औँल्याइएको थियो ।

एमालेबाट जिसस प्रमुख निर्वाचित उनी अहिलेसम्म पक्राउ परेका थिएनन् । २०७९ साल माघ २८ गते सहकारीका अध्यक्ष यमबहादुर रोक्कासमेतले सहकारी रजिस्ट्रारको कार्यालयमा लिखित निवेदन दिएर कुमारी बहुउद्देश्यीय सहकारीको रकम छानबिन गर्न माग गरेका थिए ।

उनीहरूको माग अनुसार सहकारी रजिस्ट्रारको कार्यालय पोखराले वित्तीय विश्लेषक निर्मल गौतमलाई छानबिन गर्न अख्तियारी दिएको थियो । गौतमको छानबिन प्रतिवेदनले थापाको मुख्य योजनामा सहकारीको १ अर्ब ४९ करोड रुपैयाँ हिनामिना भएको प्रतिवेदनले औँल्याएको थियो ।