काठमाडौँ, २० माघ – नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसका नेता तेजप्रसाद रिजालको निधन भएको छ । ट्रेड युनियनमा आबद्ध नेपाल इम्बोइडरी ह्याण्डिक्राफ्ट तथा सिलाइबुनाइ श्रमिक सङ्घका अध्यक्षसमेत रहनुभएका रिजालको गएराति हृदयघातका कारण निधन भएको ट्रेड युनियन कांग्रेसका वरिष्ठ उपाध्यक्ष तेजेन्द्रजङ्ग कार्कीले जानकारी दिनुभयो ।
रिजालको निधनप्रति नेपाल ट्रेड युनियन कांग्रेसले गहिरो दुःख व्यक्त गरेको छ । युनियनका महासचिव अजयकुमार राईले आज शोक विज्ञप्ति जारी गरी रिजालको निधनले नेपालको श्रमिक आन्दोलनमा ठूलो क्षति पुगेको बताउनुभयो । ट्रेड युनियन कांग्रेसले रिजालको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।
युनियनको आज बसेको आकस्मिक बैठकले ट्रेड युनियन कांग्रेसको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालय आज एक दिन बन्द गर्ने, तीन दिनसम्म आधा झण्डा झुकाउने साथै तीन दिनसम्म युनियनका कुनै पनि औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको महासचिव राईले बताउनुभयो । रासस