रविसहित १५ जनाविरुद्ध चितवनमा ठगी मुद्दा दर्ता

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत चितवनमा ठगी मुद्दा दर्ता भएको छ ।

मंगलबार चितवन जिल्ला अदालतमा रविविरुद्ध सहकारी ठगीको मुद्दा दर्ता भएको हो । यसअघि उनीविरुद्ध यस्तै प्रकरणमा कास्की अदालत, काठमाडौं अदालत र रुपन्देही अदालतमा पनि मुद्दा दर्ता भइसकेको छ ।

चितवनको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा उनीविरुद्ध मुद्दा दर्ता भएको हो । जिल्ला सरकारी वकिल कार्यालय चितवनले लामिछानेसहित यो प्रकरणमा १५ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

१५ जना र ६ वटा संस्थाविरुद्ध मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालय चितवनले जानकारी दिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयका अनुसार लामिछाने, रामबहादुर खनाल, रबिना रिमाल, विशाल तामाङ,नवीन अछामी, कविता तामाङ, दीपक लामा, असरफ अलि सिद्दिकी, भगवती बम्जन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणि बास्तोला , शिवबहादुर गुरुङ र प्रगती श्रेष्ठविरुद्ध मुद्दा दर्ता गरिएको हो । रविलाई सहकारी ठगीमा मात्रै मुद्दा दर्ता गरिएको छ भने अन्य १२ जनालाई संगठित अपराध कसुरमा पनि मुद्दा दर्ता गरिएको सरकारी वकिल कार्यालयले जनाएको छ ।

प्रहरीको अनुसन्धान प्रतिवेदनमा यो सहकारीको ३८ करोड ९ लाख ७९ हजार रूपैयाँ हिनामिना भएको उल्लेख छ ।

यसअघि लामिछानेलेलाई कास्की जिल्ला अदालतले ६५ लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो। त्यसैगरी काठमाडौँ जिल्ला अदालतले ६० लाख रुपैयाँमा लामिछानेलाई छोडेको थियो भने रूपन्देही जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटीमा उनलाई रिहा गरेको थियो।